close

नेपाली बजारमा आइमाको नयाँ बिजुली स्कुटर, मूल्य १ लाख ९० हजार रुपैयाँ

टेकपाना टेकपाना

भदौ ३०, २०८१ १७:९

नेपाली बजारमा आइमाको नयाँ बिजुली स्कुटर, मूल्य १ लाख ९० हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आइमा ब्राण्डको नयाँ विद्युतीय स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि आइमाको आधिकारिक वितरक हिमाल ईभी मोटर्स प्रालिले हालै ‘ए ७१५’ मोडेलको स्कुटर भित्र्याएको हो ।

यस स्कुटरको मूल्य दुई लाख पाँच हजार रुपैयाँ तोकिएको छ । तर, सुरुवाती चरणमा कम्पनीले यसलाई १५ हजार रुपैयाँ छुटसहित एक लाख ९० हजार रुपैयाँमा बिक्री गर्न थालेको छ । 

स्कुटरमा ७२ भोल्ट तथा ३८ एम्पियर आवरको जीएलए ग्रेफेन ब्याट्री दिइएको छ, जसको क्षमता २.७ किलोवाट हुन्छ । स्कुटरलाई छ घण्टाभित्र फुल चार्ज गर्न सकिन्छ । 

कम्पनीका अनुसार आइमा ए ७१५ ले एक पटकमा १०० देखि १२० किलोमिटरसम्म रेन्ज दिन्छ । १८०० वाटको मोटर रहेको स्कुटरलाई प्रतिघण्टा ५५ किलोमिटर स्पिडमा कुदाउन सकिने जनाइएको छ । मोटरको पिक पावर ३२०० वाटसम्मको छ ।

यसको अगाडिपट्टि १२ इन्च र पछाडिपट्टि ११ इन्चको टायर दिइएको छ ।​ ग्राउन्ड क्लियरेन्स भने १७० एमएम रहेको छ । यसले बढीमा २०० किलोसम्मको तौल धान्न सक्ने बताइएको छ । सिटमुनि ३२ लिटर क्षमताको स्टोरेज रहेको छ ।

नेपाली बजारमा सिल्भर ब्लु र ग्रे कलर अप्सनमा यो स्कुटर खरिद गर्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८१ १७:२४