काठमाडौं । १७ सेप्टम्बर २०२४ लेबनानको स्थानीय समय अनुसार दिउँसो साढे ३ बजे, इस्लामिक संगठन हिज्बुल्लाहका सदस्यले बोकेका तीन हजार बढी पेजर एकसाथ विस्फोट भए । यी डिभाइस हिज्बुल्लाहका सदस्यहरू एक-अर्कासँग सञ्चार गर्न प्रयोग गर्थे । त्यस समयमा डिभाइस बोकेकाहरू कोही घरमा थिए भने कोही बजारमा ।
हिज्बुल्लाहका प्रतिनिधिका अनुसार त्यसबेला एउटा मेसेज आएको थियो । त्यससँगै त्यतिबेला जति पनि डिभाइस एक्टिभ थिए, सबै एकसाथ विस्फोट भए । यसबाट हिज्बुल्लाहका सदस्यको बाहुल्यता बढी भएको लेबनानको राजधानी बेइरुत प्रभावित बन्यो ।
त्यसको अर्को दिन, १८ सेप्टेम्बरमा हिज्बुल्लाहका सदस्यले बोकेका सयौं रेडिओ डिभाइस ‘वाकीटकी’ त्यसरी नै विस्फोट भए । छुट्टाछुट्टै ठाउँमा भएका यी दुई घटनामा हालसम्म ३७ जनाभन्दा बढी मारिएको र हजारौं घाइते भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
एकै पटक तीन हजार बढी डिभाइस पड्किनु सामान्य विषय थिएन । यस्तो घटना पहिले कहिल्यै पनि भएको थिएन । लेबनानमा जति पनि आक्रमण भएका छन्, त्यसमध्ये सबैभन्दा भयावह यही पेजर विस्फोटको आक्रमणलाई मानिएको छ ।
एकसाथ सञ्चार उपकरण विस्फोट भएपछि लेबनानले देशभर आपतकालीन अवस्था घोषणा गर्यो । घाइते भएकाहरूका लागि अस्पतालमा ठाउँ पाउन पनि मुस्किल हुने अवस्था सिर्जना भएको छ ।
समाचार माध्यम सीएनएनले यस आक्रमणको जिम्मेवार इजरायल भएको दाबी गरेको छ । यसमा इजरायलको गुप्तचर निकाय मोसाद र इजरायली सेनाको हात भएको उल्लेख गरिएको छ ।
के हो पेजर डिभाइस ?
पेजर एक वायरलेस कम्युनिकेसन सिस्टम जसरी काम गर्ने डिभाइस हो । यसमा कुनै किसिमको सिमकार्ड वा मोबाइल नेटवर्कको प्रयोग हुँदैन । रेडिओ सिग्नलकै सहायताले यस डिभाइसबाट टेक्स्ट मेसेज पठाएर कुराकानी गर्न सकिन्छ ।
अहिलेको युगमा अत्याधुनिक सुविधा सहितका सञ्चार उपकरणहरू छन् । तर, किन हिज्बुल्लाहले कैयौं दशक पुरानो डिभाइस प्रयोग गर्यो त ?
हिज्बुल्लाह त्यसअघि सेलफोन प्रयोग गर्थ्यो । तर, त्यसमा उक्त समूहको सबैभन्दा ठूलो दुस्मन इजरायलले डिभाइस ह्याक गरी लोकेसन ट्रयाक गर्ने जोखिम बढी थियो । त्यसैले देशभर स्मार्टफोन नष्ट गर्नेदेखि माटोमा गाड्नेसम्मका अभियान चलेको थियो ।
त्यसैले उनीहरूले मोबाइल डिभाइस प्रयोगमा रोक लगाई सबैभन्दा साधारण र सुरक्षित डिभाइसका रूपमा ‘पेजर’ प्रयोग गर्न थालेका थिए । हिज्बुल्लाहले इजरायलको गुप्तचार निकाय मोसादबाट लुकाएर पेजरलाई सूचना पाउने प्लेटफर्मका रूपमा प्रयोग गर्दै आएको थियो ।
उक्त डिभाइसमा महत्त्वपूर्ण घटनाको जानकारी एक साथ पठाइन्थ्यो । यी सबै पेजर डिभाइस एउटा पेजर नेटवर्कसँग कनेक्ट हुन्थे । कसैले मेसेज पठाउनु पर्यो भने सबैभन्दा पहिले त्यो मेसेज पेजर नेटवर्कमा पुग्छ । र, उक्त नेटवर्कमा कनेक्ट भएका पेजर डिभाइसमा पुग्छ । जब सिग्नल अन्य पेजर डिभाइससम्म पुग्छ, त्यसपछि पेजरमा युनिक आइडेन्टिफिकेसन कोडबाट सिग्नलको जाँच गर्छ । सिग्नल मिलेको खण्डमा पेजरले सिग्नललाई एसेप्ट गर्छ र त्यसमा पठाएको मेसेज देखिन्छ ।
सबै पेजरमा एकसाथ पड्किन कसरी सम्भव भयो ?
सबैभन्दा पहिले पेजर डिभाइस एउटा जटिल खालको ह्याकिङद्वारा विस्फोटन गराइएको ठानिएको थियो । तर, विज्ञहरूले त्यसलाई तत्कालै खारेज गरिदिए । जुन मात्रामा विस्फोटले क्षति गरायो, त्यसका आधारमा ती पेजरहरू हिज्बुल्लाहको नियन्त्रणमा पुग्नुअघि नै तिनमा विस्फोटक पदार्थ राखिएको हुन सक्ने विज्ञहरूको भनाइ छ ।
पड्किएका पेजर डिभाइसको पछाडिपट्टि ताइवानी कम्पनी गोल्ड एपोलोको नाम छ । ती डिभाइसमा मोडेल नम्बर ‘Gold Apollo AR924’ उल्लेख छ । तर, एपोलो गोल्डले यी मोडेलका डिभाइस निर्माण नै नगरेको दाबी गरेको छ ।
बरु तीन वर्षअघि सम्झौता भएको बीएससी कन्सल्टिङ नामक कम्पनीलाई आफ्नो ब्रान्ड नाम प्रयोग गर्न दिएको गोल्ड एपोलोले जनाएको छ । यदि निर्माण गर्ने समयमै यी डिभाइस विस्फोट हुन् भन्ने उद्देश्यले विस्फोटक पदार्थ राखिएको थियो भने यसको योजना धेरै समय पहिले नै भएको अनुमान गर्न सकिन्छ ।
हिज्बुल्लाहका अनुसार उनीहरूले ५००० ओटा एपोलो पेजर डिभाइस अर्डर गरेका थिए । त्यसमध्ये पहिलो चरणमा २०२४ को सुरुवातमा मात्र तीन हजार डिभाइस लेबनान आइपुगेका थिए । गोल्ड एपोलोका संस्थापक सु चिङ क्वाङका अनुसार जुन पेजर डिभाइस विस्फोट भएका छन्, ती ताइवानमा बनेका होइनन् ।
हङ्गेरीको राजधानी बुढापेस्टस्थित बीएससी कन्सल्टिङले निर्माण गरेको उनले बीबीसीलाई बताए । विस्फोट भएका पेजरको मोडेल ‘एआर ९२४’ थियो । यो डिभाइसको डिजाइन, त्यसका फिचर सबै बीएससीले तयार पारेको भए पनि नाम ताइवानी कम्पनीको थियो । यस कम्पनीले करिब तीन वर्षदेखि पेजर निर्माणको काम गर्दै आएको गोल्ड एपोलोले जनाएको छ ।
विभिन्न सञ्चार माध्यमका अनुसार बीएससी कन्सल्टिङ यही काम गर्छ भन्ने कतै खुलेको छैन । यसको सङ्लग्नता गैरकानूनी काममा बढी भएको जनाइएको छ । त्यसबाहेक यस कम्पनीले वर्षेनि करोडौं रकम नाफा गर्ने गरेको रिपोर्ट पनि बाहिरिएका छन् । यस कम्पनीले जनवरी २०२२ पछि दुई लाख ६० हजार पेजर ताइवानबाट वितरण गरिसकेको छ । तर, यी डिभाइस लेबनान बाहेक अन्त कहाँ वितरण भएका थिए भन्ने खुलाइएको छैन ।
लेबनानमा आक्रमण भइसकेपछि भने यस कम्पनीको वेबसाइट हटेको छ । सीएनबीसीले यस कम्पनीकी सीईओलाई सम्पर्क गरेको थियो । त्यस क्रममा उनले सीएनबीसीलाई आफूहरू कमिसन लिएर एपोलो गोल्डको सामान सप्लाइ गरिदिने गरेको बताइन् । यस आक्रमणमा आफ्नो नाम जोडिएपछि उता हङ्गेरीले पेजर डिभाइस त्यहाँ निर्माण नहुने दाबी गरेको छ ।
विज्ञहरूका अनुसार यस डिभाइसमा पहिले नै २८ ग्रामको विस्फोटक पदार्थ राखिएको थियो । सम्भवतः दुई ओटा सेल हुने यस पेजमा एउटा सेलको ठाउँमा पूर्ण रूपमा विस्फोटक पदार्थ राखिएको थियो । त्यसलाई पड्काउनका लागि डिभाइसमा विशेष किसिमको चिप राखिएको थियो । डिभाइसले एउटा विशेष किसिमको कोड पाएपछि चिप सक्रिय हुने र त्यसैले विस्फोटक पदार्थमा ताप पैदा गरी पड्काएको आशंका गरिएको छ ।
तर, कोड पठाउने काम त्यति सजिलो छैन । पेजर नेटवर्क हिज्बुल्लाहको नीजि नेटवर्क थियो । अर्थात त्यस नेटवर्कमा जसको पहुँच छ वा जसको डिभाइस रजिस्टर्ड छ, उसले मात्र कोड पठाउन सक्छ । त्यसोभए गोप्य कोड यो प्राइभेट नेवर्कटमा कसले पठायो ।
यसमा तीन ओटा घटना हुन सक्ने बताइएको छ । पहिलो- हिज्बुल्लाहको समूहमा कोही जासुस थियो । दोस्रो- मुसादसँग त्यस्तो क्षमता हुनुपर्छ जसको सहायताले उनीहरू प्राइभेट रेडिओ फ्रिक्वेन्सीको नेटर्वक ह्याक गर्न सक्छन् । तेस्रो-पेजरभित्र छुट्टै मोडाइल नेटवर्कको कनेक्सन लगाएर एसएमएस वा कलमार्फत विस्फोटक पदार्थ पड्काइएको हुन सक्छ ।
त्यसको भोलिपल्ट विस्फोट भएका वाकीटकीमा पनि यस्तो किसिमको घटना दोहोरिएको थियो । ती वाकीटकीमध्ये एउटा त्यतिबेला पड्क्यो जतिबेला हिज्बुल्लाहका एक सदस्य हिजोको घटनामा ज्यान गुनाएका सदस्यको मलामी गएका थिए ।
वाकीटकीमा आईकम कम्पनीको लोगो देख्न सकिन्छ । आईकम जापानी कम्पनी हो । आईकमले विज्ञप्ति जारी गर्दै आईकम भी ८२ मोडेल सन् २०१४ देखि नै बनाउन छोडिसकेको जनाएको छ । हिज्बुल्लाहले यी वाकीटकी सेट करिब पाँच महिनाअघि खरिद गरेका थिए जतिबेला पेजर डिभाइस लेबनानमा आएका थिए ।
लेबनानी सुरक्षा वलका अनुसार इजरायली गुप्तचर निकाय मुसाद दोस्रो मुलुकमा यस्ता किसिमका गतिविधि गर्नका लागि चर्चित छ । त्यसैले उनीहरूले नै ठूलो योजना बनाएर पेजर तथा रेडिओ फ्रिक्वेन्सी डिभाइसभित्र विस्फोटक पदार्थ राखेका थिए ।
र, मौका मिल्नासाथ उनीहरूले ती डिभाइस विस्फोट गराएका थिए । हुन त मुसादमाथि पहिले पनि यस्ता थुप्रै आरोप लागेका छन् । सन् २०१० मा मुसादले स्टक्सनेट नामको कम्प्युटर वर्म सार्वजनिक गरेको थियो । यसको मुख्य लक्ष्य इरानको आणविक परियोजना । यस आक्रमणमा इजरायलका साथै अमेरिकालाई पनि जोड्ने गरिएको छ ।
सन् २००७ मा भएको अपरेसन अर्चरडमा इजरायलले सिरियाको हवाई सुरक्षा प्रणाली ह्याक गर्यो । यसले गर्दा उनीहरूले इजरायली जेड विमानलाई डिटेक्ट गर्न असमर्थ भएका थिए । मुसादले साइबर सुरक्षा प्रणालीमार्फत थुप्रै कम्पनी, व्यक्ति र निकायमाथि जासुसी गरिरहेको बताइएको छ ।
लेबनानमा भएको पेजर विस्फोटको घटनालाई यस समयको सबैभन्दा खतरनाक हमालका रूपमा हेरिएको छ । यसले विश्वव्यापी रूपमा नयाँ बहसको सिर्जना गरेको छ । यदि पेजर र वाकीटकी जस्तो डिभाइस त विस्फोट हुन सक्छन् भने हामीले प्रयोग गर्ने स्मार्टफोन, कम्प्युटर वा अन्य डिभाइस सुरक्षित छन् ? हमला पहिले पनि भएका थिए, पछि पनि हुन्छन् । तर, हमला गर्ने तरिका भने परिष्कृत र अत्याधुनिक हुँदै गएका छन् ।