close

दशैंभर नेपाल पे इन्स्ट्यान्ट मार्फत २६ बैंकका खातामा निःशुल्क रकम ट्रान्सफर गर्न मिल्ने

टेकपाना टेकपाना

असोज ७, २०८१ १०:५५

दशैंभर नेपाल पे इन्स्ट्यान्ट मार्फत २६ बैंकका खातामा निःशुल्क रकम ट्रान्सफर गर्न मिल्ने

काठमाडौं । वडा दशैंलाई लक्षित गर्दै नेपाल पेले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्सफर निःशुल्क गरेकोे हो ।

अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेका कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू तथा कनेक्ट आईपीएस प्रयोगकर्ताले आउँदो ३० असोजसम्मका लागि यो सुविधा पाउन सक्नेछन् । नेपाल पे इन्स्ट्यान्ट मार्फत बिना शुल्क २६ ओटा बैंक तथा वित्तीय संस्थाहरूमा रकम पठाउन सकिनेछ ।

नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो । जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस (भीपीए) को आधारमा फण्ड ट्रान्सफर गर्न सकिन्छ । लाभग्राहीको मोबाइल नम्बरलाई नै यसमा भीपीएको रूपमा लिइएको छ ।

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साङ्ग्रिला विकास बैंकका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध छ ।

थप जानकारीको लागि आफ्नो बैंकलाई सम्पर्क गर्न अथवा एनसीएचएलको वेबसाइटमा जान सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ १०:५६