काठमाडौं । एआई र रोबोटिक्स विषय प्रधान पहिलो नेपाली उपन्यास सार्वजनिक भएको छ । शनिवार कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमबिच श्रीधर खनाल कृत सावर्णि सार्वजनिक भएको हो ।
कार्यक्रममा सावर्णिलाई लेखक खनाल सहित प्राध्यापक अभि सुवेदी, लेखक डा रवीन्द्र समीर र लेखक सगुना शाहले संयुक्त रूपमा लोकार्पण गरेका थिए । सावर्णिलाई वक्ताहरूले नेपाली साहित्यको प्रयोगात्मक उपन्यास भएको बताए । एआई र रोबोटिक्स विषय नेपाली साहित्यमा कम लेखिएको विषयवस्तु हो । यसैमाथि लेखिएको किताब भएकाले सावर्णि पृथक् किताब भएको वक्ताहरूले उल्लेख गरे ।
प्रकाशक बुकहिलका अनुसार सावर्णिमा हिजोका महाभारत र कृष्ण युगका कथा र आज मानिस स्वयँले जन्माएको एआई र रोबोटिक्सका कथा पढ्न पाइनेछ । त्यस्तै पुस्तकमा मानव सभ्यताको विकास हुनुभन्दा अघिका युग र अहिले मान्छेले नै सिर्जना गरेको एआई दुनियाँ बिचको कथालाई प्रतिविम्बित गर्न खोजिएको छ ।
उमेरले ३६ लागेका पुस्तकका लेखक डा. खनाल बाल रोग विशेषज्ञ समेत हुन् । १७० पृष्ठको यो उपन्यासको मूल्य ४०० रुपैयाँ कायम राखिएको छ । यस पुस्तकको कभर डिजाइन भने सचिन यगोल श्रेष्ठले गरेका हुन् ।