close

एनसेलमा पार्टटाइम काम गर्नेलाई ५० हजारसम्म तलब दिने भन्दै ठगी धन्दा

टेकपाना टेकपाना

असोज १२, २०८१ १६:५३

एनसेलमा पार्टटाइम काम गर्नेलाई ५० हजारसम्म तलब दिने भन्दै ठगी धन्दा

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलको नाम र लोगो दुरुपयोग गर्दै ठगी धन्दा चलिरहेको पाइएको छ । सामाजिक सञ्जालमा ‘Dương Linh’ नामको अकाउन्टबाट एनसेलमा पार्टटाइम काम गरेर मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउन सकिने भन्दै अनलाइन स्क्यामको अभियान सञ्चालन गरिएको हो ।

यो ठगी धन्दामा संलग्न व्यक्तिहरूले फेसबुकमा एनसेलको लोगो प्रयोग गरी झूटा विज्ञापनहरू पोस्ट गरिरहेका छन् । विज्ञापनमा व्यक्तिले घरबाटै काम गरेर उच्च तलब कमाउन सकिने आश्वासन दिइएको छ । दैनिक दुई घण्टा मात्र काम गरेर ५० हजार रुपैयाँसम्मको आम्दानी हुने बताइए पनि यो पूर्ण रूपमा ठगी हो ।

सामाजिक सञ्जालमा मात्रै नभई मोबाइलमा एसएमएस गरेर पनि यस्तो स्क्याम भइरहेको साइबर सुरक्षा विज्ञले बताएका छन् । विज्ञहरूले आफ्नो व्यक्तिगत र वित्तीय जानकारी नदिन र कुनै पनि शंकास्पद प्रस्तावलाई जाँचबिना विश्वास नगर्न सुझाव दिएका छन् ।

यसअघि, ईकमर्स कम्पनी दराजको नाममा पनि यस्तै ठगी धन्दा सञ्चालन भएको थियो, जसबाट धेरै मानिसहरू ठगिएको घटना सार्वजनिक भएका थिए ।

 

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १६:५३