काठमाडौं । चीनको नानिङ सहरमा हालै भएको ‘एसिया-प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४’ मा नेपाली विद्यार्थीले बनाएको एआई समाधानले पिपुल्स च्वाइस अवार्ड जितेको छ । ह्वावे नेपालको ‘सिड्स फर दी फ्युचर २०२४’ कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका पाँच नेपाली विद्यार्थीले यो उपलब्धि हासिल गरेका हुन् ।
देशभरका सयौं विद्यार्थीमध्येबाट समीप अर्याल, आशिष कार्की, एन्जिलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी र समृद्धि कार्की समिटका लागि छनोट भएका थिए । उक्त समिटको ढाँचाभित्र विश्वव्यापी युवा प्रतिभालाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम भएका थिए ।
समिटमा विश्वका १९ देशबाट सयौं विद्यार्थी सहभागी थिए । एक सातासम्म सञ्चालन भएको कार्यक्रममा नेपाली टोलीले ‘अल्ट्राकेयर’ मसिनको बारेमा आफ्नो बिजनेस आइडिया प्रस्तुत गरेको थियो ।
“अल्ट्राकेयर, खासगरी ग्रामीण क्षेत्रका गर्भवती महिलाका लागि बनाइएको एउटा पोर्टेबल अल्ट्रासाउन्ड मसिन हो,” नेपाली टिमका सदस्य समीप अर्यालले भने, “यो मसिनलाई साना क्लिनिकहरूमा राखिन्छ । यसमा एआई समावेश गरिएको छ । बच्चा ठीक अवस्थामा छ कि छैन भन्ने कुरा एआईले नै अध्ययन गरी जानकारी दिन्छ ।”
यस मसिनले गर्भावस्थाका विभिन्न जटिलताहरू पहिल्यै पत्ता लगाई गर्भपतन हुनबाट जोगाउन सक्ने अर्यालले बताए । “यदि कुनै असमानता देखियो भने यसले तुरुन्तै सहरका अस्पतालहरूमा रहेका डाक्टरहरूलाई अलर्ट पठाउँछ । यसबाट महिलाको ज्यान जोगिन सक्छ,” उनले भने ।