close

सामाजिक सञ्जालमा चर्को विरोध भएपछि हवाई टिकटमा अधिकतम मूल्य नलिने निर्णय

टेकपाना टेकपाना

असोज १३, २०८१ २०:८

सामाजिक सञ्जालमा चर्को विरोध भएपछि हवाई टिकटमा अधिकतम मूल्य नलिने निर्णय

काठमाडौं । हवाई भाडा अचाक्ली वृद्धि भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि हवाई सेवा प्रदायकहरूले तीन दिनसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

देशभरि बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भइरहेका बेला विमान कम्पनीले आफूखुसी भाडा बढाएको भन्दै आलोचना भएको थियो । सडक यातायात ठप्प हुँदा दशैंका लागि हवाई यात्राको माग उच्च छ । यस्तो अवस्थामा विमान कम्पनीहरूले अस्वाभाविक रूपमा भाडा महँगो बनाएका छन् । सामाजिक सञ्जालमा विरोध चर्किँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हवाई भाडामा सहुलियत दिन कम्पनीहरूलाई आग्रह गरेका छन् ।

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीका अनुसार सोमबार, मङ्गलबार र बुधबारसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ । उनले सरकारले इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङ लगायतको शुल्कमा सहुलियत दिए भाडा अझै घटाउन सकिने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि विपद्को समयमा मानवीय संवेदनालाई ध्यानमा राख्दै यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको छ । "कम्तीमा विपद्को अवस्थामा सस्तो भाडामा सेवा उपलब्ध गराउन सुझाव दिएका छौं," प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८१ २०:१५