काठमाडौं । चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले आगलागीको सम्भावना देखिएपछि करिब ९७ हजार गाडी फिर्ता बोलाउने भएको छ । बीवाईडीले सोमबार (सेप्टेम्बर ३०) देखि ९६ हजार ७१४ डल्फिन (Dolphin) र युआन प्लस (Yuan Plus) मोडेलका ईभी फिर्ता बोलाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको बजार नियमन गर्ने ‘स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन' (एसएएमआर)ले जारी गरेको विज्ञप्ति अनुसार बीवाईडीले दुई समूहमा सवारी साधन फिर्ता माग गर्नेछ ।
यसअन्तर्गत बीवाईडी अटो इन्डस्ट्री को. लिमिटेडले फेब्रुअरी ४, २०२३ देखि डिसेम्बर २६, २०२३ बीचमा बनेका ८७ हजार ७६२ ओटा डल्फिन फिर्ता मागिने छ भने बीवाईडी अटो को. लिमिटेडले नोभेम्बर २, २०२२ देखि जुन १९, २०२३ बीचमा बनेका आठ हजार ९५२ ओटा युआन प्लस फिर्ता माग्नेछ ।
यी सवारीको इलेक्ट्रिक पावर स्टेरिङ कन्ट्रोलरको निर्माण प्रक्रियामा समस्या देखिएको छ, जसका कारण क्यापासिटरमा साना दरार देखा पर्न सक्नेछन् । यसले सवारी चलाउँदा सर्ट सर्किट र आगलागीको जोखिम बढ्ने सम्भावना भएको बताइएको छ ।
बीवाईडीले फिर्ता लिने सवारीमा निःशुल्क रूपमा इन्सुलेसन ग्यास्केट जडान गरी समस्या समाधान गरिने छ । यसअन्तर्गत सर्भिस सेन्टरमा कुनै समस्या भेटिए त्यसलाई सच्याइनेछ । यस्तो गर्नुको मुख्य उद्देश्य गाडी चलाउनेहरूको सुरक्षा सुनिश्चित गर्नु हो ।
फिर्ता माग गरिएका गाडीहरू अन्तर्राष्ट्रिय बिक्रीमा गइसकेका छन् कि छैनन् भन्ने कुरा भने स्पष्ट छैन ।
के छ नेपालको अवस्था ?
बीवाईडीको डल्फिन गाडी नेपाली बजारमा पनि रुचाइएको विद्युतीय गाडी हो । बीवाईडी युआन प्लस गाडी भने हालसम्म नेपाली बजारमा आइसकेको छैन ।
नेपालस्थित बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालका आफ्टर सेल्स डिपार्टमेन्ट हेड सुशील तण्डुकारका अनुसार नेपालमा आउने बीवाईडी गाडीहरू राइट ह्यान्ड ड्राइभ भएको र चीनमा फिर्ता बोलाइएका गाडीहरू लेफ्ट ह्यान्ड ड्राइभ रहेको हुनाले नेपालका ग्राहक चीनको समाचारले आत्तिनुपर्ने अवस्था छैन ।
उनले भने "लेफ्ट ह्यान्ड ड्राइभ र राइट ह्यान्ड ड्राइभको 'म्यानुफ्याक्चरिङ प्लान्ट' नै छुट्टै हुन्छ । यसकारण नेपाली ग्राहक आत्तिनुपर्ने अवस्था छैन ।"
उनले बजारबाट गाडी फिर्ता बोलाउनु सुरक्षाका दृष्टिले राम्रो भएको बताए । "बजारबाट गाडी फिर्ता बोलाउनु ठूलो समस्या होइन, बेलाबेलामा यस किसिमका सामान्य समस्या देखा पर्छन्, ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले मर्मत सम्भारको लागि गाडी फिर्ता बोलाउने गर्छ,” उनले भने ।