काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोले नेपालका विभिन्न ठाउँमा ठूलो जनधनको भएको छ । नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परी २०० बढीको ज्यान गइसकेको छ । १२७ बढी घाइते भएका छन् भने २६ जना अझै बेपत्ता छन् ।
बाढीले गर्दा सयौं परिवार विस्थापित भएका छन् । यस्तोमा बाढीपीडितलाई तत्काल राहत आवश्यक परेको छ । तर, राहत सङ्कलन र वितरणको समन्वयमा विभिन्न किसिमका चुनौती देखा परेका छन् ।
यस्तो जटिल परिस्थितिमा युथ इनोभेसन ल्याबले एडपल्स नामक प्लेटफर्म सार्वजनिक गरेको छ ।
युथ इनोभेसन ल्याबका कार्याकरी निर्देशक प्रदीप खतिवडाका अनुसार एडपल्स दाता र राहत आवश्यक पर्ने व्यक्तिलाई एक आपसमा जोड्ने प्लेटफर्म हो । “हामीले स्वयंसेवाका रूपमा यो प्लेटफर्म ल्याएका छौं,” टेकपानासँग कुरा गर्दै खतिवडाले भने, “हाम्रो काम दाता र पीडितलाई एक आपसमा यस प्लेटफर्ममार्फत जोड्ने हो ।”
यसमा विभिन्न समुदाय, सङ्गठन र व्यक्तिले आफूलाई आवश्यक परेको राहत सामग्री माग गर्न सक्छन् । सामान्य फारम भरेर यस प्लेटफर्मबाट खाना, लुगा, औषधि लगायतका सामग्री राहतका रूपमा उपलब्ध गराइदिन अनुरोध गर्न सकिन्छ ।
उक्त माग युथ इनोभेसन ल्याबका प्रतिनिधिले जाँच्छन् । आवश्यक परेको पुष्टि भएको खण्डमा उक्त माग वेबसाइटमा देखिन्छ । र, राहत दिन चाहने व्यक्ति, कम्पनी वा संस्थाले सोझै सम्पर्क गरेर राहत उपलब्ध गराउन सक्छन् ।
खतिवडाका अनुसार यसमा रियल टाइम म्यापिङ प्रविधिको प्रयोग गरिएको छ । यसको सहायताले कहाँ कस्तो प्रकारको राहत तुरुन्त आवश्यक छ, कति मात्रा आवश्यक परेको छ र कति चाँडो पुग्नुपर्छ भन्ने सूचना हेर्न सकिन्छ । सहयोगदाता म्याप हेरेर तत्काल अपडेटहरू पाउन सक्छन् । र, आवश्यकता अनुसार सामग्री वा आर्थिक सहयोग गर्न सक्छन् ।
त्यसपछि माथि दायाँपट्टि रहेको ‘राहत अनुरोध’को बटनमा ट्याप गर्नुहोस् ।
अनि, आफ्नो व्यक्तिगत जानकारी, राहत स्थान, त्यहाँको वर्तमान अवस्था, तत्काल आवश्यक परेका सामग्री आदि जानकारी राखी फारम पेस गर्न सकिन्छ ।
राहत दिन चाहने व्यक्ति वा सङ्गठनले के गर्ने ?
सबैभन्दा पहिले यहाँ क्लिक गरी वेबसाइटमा जानुहोस् ।
त्यसपछि त्यहाँ राहत माग गरिएका विभिन्न अप्सन देख्न सकिन्छ ।
राहत वितरणका लागि ‘प्रतिकार्य गर्नुहोस्’ लेखेको बटनमा ट्याप गर्नुहोस् ।
अनि, आफ्नो व्यक्तिगत जानकारी, समर्थनको प्रकार लगायतका जानकारी राख्न सक्नुहुन्छ ।
सबै जानकारी राखिसकेपछि ‘पेस गर्नुहोस्’ को बटनमा ट्याप गर्नुपर्ने हुन्छ । यति गरेपछि तपाईंलाई युथ इनोभेसन ल्याबका प्रतिनिधिले सम्पर्क गर्नेछन् । र, तपाईं आफ्नो, आफ्नो संस्था वा समुदायको तर्फबाट सहयोग गर्न सक्नुहुन्छ ।