close

सामसङ र गुगल विरुद्ध मुद्दा दायर गर्दै फोर्टनाइट गेम निर्माता एपिक गेम्स, के हो विवाद ?

टेकपाना टेकपाना

असोज १५, २०८१ १९:४८

सामसङ र गुगल विरुद्ध मुद्दा दायर गर्दै फोर्टनाइट गेम निर्माता एपिक गेम्स, के हो विवाद ?

काठमाडौं । चर्चित कम्प्युटर गेम ‘फोर्टनाइट’ निर्माता एपिक गेम्सले सामसङ र गुगल विरुद्ध मुद्दा दायर गर्ने भएको छ । सामसङ डिभाइसमा थर्ड-पार्टी एपलाई रोक्न समन्वय गरेको आरोप लगाउँदै एपिक गेम्सले क्यालिफोर्नियास्थित संघीय अदालतमा यी दुई प्रविधि कम्पनी विरुद्ध  मुद्दा हाल्ने तयारी गरेको हो ।  

एपिकले सामसङ र गुगललाई अमेरिकी प्रतिस्पर्धा कानुनको उल्लंघन गरेको आरोप लगाएको छ । यसले उपभोक्ताको विकल्पलाई कम गरिरहेको र एपहरूको मूल्य घटाउने प्रतिस्पर्धा रोकिरहेको एपिकको तर्क छ । 

एपिक गेम्सले अदालतमा दायर गर्न लागेको कानुनी उजुरीमा भनिएको छ, "​सामसङका नयाँ फोन तथा ट्याब्लेटमा फोर्टनाइट गेम खेल्न सेक्युरिटी वार्निङ र सेटिङ चेन्जसम्म गरी २१ ओटा चरण पार गर्नुपर्छ ।" यसकारण सामसङ डिभाइसमा गेम डाउनलोड गरेका आफ्ना झन्डै ५० प्रतिशत ग्राहकले पूर्ण रूपमा इन्स्टल नै नगरी फोर्टनाइट छोडेको एपिक गेम्सको दाबी छ ।

सामसङ वा गुगल स्टोरहरूमा एपहरू केवल केही ट्यापमै डाउनलोड गर्न सकिन्छ । तर, फोर्टनाइट भने एपिकको आफ्नै गेम्स स्टोरबाट डाउनलोड गर्नुपर्ने हुन्छ । तर सामसङ डिभाइसमा डाउनलोड गर्दा अनावश्यक चरण राखी हैरानी दिएको एपिकको गुनासो छ ।

एपिक गेम्सका अनुसार अन्य एन्ड्रोइड डिभाइसमा १२ ओटा चरण पार गरेपछि यो गेम खेल्न सकिन्छ । तर सामसङले गुगलसँग समन्वय गरी ‘अटो ब्लक’ नामक फिचर डिफल्ट रूपमै खुला गरिदिँदा गेम खेल्न चाहने प्रयोगकर्ताले झन्झट व्यहोर्नु परेको छ ।

सामसङको यो कदम स्वस्थ प्रतिस्पर्धाको नियम विपरीत रहेको एपिक गेम्सको आरोप छ । उसका अनुसार ‘अटो ब्लक’ नामक फिचर अनधिकृत स्रोतको डाउनलोडलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ ।

सामसङले भने एपिक्स गेमले लगाएका सबै आरोपको खण्डन गर्दै उजुरीको कानुनी रूपमा नै सामना गर्ने प्रतिक्रिया दिएको छ । सामसङले आफूले प्रयोगकर्तालाई म्यानुअली नै अटो बल्क फिचर बन्द गर्नसक्ने बनाएको तर्क गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८१ १३:३४