close

ती दुर्घटना, जसपछि हवाई जहाजको डिजाइन सधैंका लागि फेरियो

टेकपाना टेकपाना

असोज १६, २०८१ १८:३२

ती दुर्घटना, जसपछि हवाई जहाजको डिजाइन सधैंका लागि फेरियो

काठमाडौं । आज संसारभर हवाई यात्रालाई सबैभन्दा सुरक्षित र भरपर्दो मानिन्छ । तर यो परिस्थिति आउन समय लामो लाग्नुका साथै ठूलो मूल्य चुकेको छ । तपाईंले यो लेख पढिरहँदा ठीक यतिबेला हजारौं मानिसहरू हवाईजहाजमार्फत पृथ्वीको तल्लो कक्षमा यात्रा गरिरहेका छन् । भविष्यमा यो संख्या बढेर लाखौं पनि पुग्न सक्छ । अहिले त हवाईजहाज नभएर एयर ट्याक्सी अथवा एयर कारका विषय जो उठिरहेको छ ।

छोटो समयमा लामो दूरी पार गर्न सकिने भएकाले हवाई यात्राप्रति यात्रुहरू सधैं आकर्षित हुन्छन् । तर हवाई यात्राका सुरुवाती दिनहरू सजिला थिएनन् । हावामा गह्रौं यन्त्र उडाउन सम्भव हुनुअघि हरेक उडानका प्रयास खतरनाक थिए । किनकि चरा जस्तै हावामा उड्ने चाहनाका कारण कतिपयले आफ्नो हातमा पखेटा बाँधेर पहाड र टावरहरूबाट हाम्फालेको मानव इतिहास छ । भलै ती प्रयास साहसिक भए पनि उड्नलाई सहि तरिका थिएन ।

तर पछि हवाईजहाज नै बनाएपछि पनि उड्न प्रयास गर्ने सन्दर्भमा सयौं दुर्घटना भएका छन् । ती घटनालाई बलिदानका रूपमा पनि बुझ्न सक्छौं । उड्नका लागि मान्छेले गरेको बलिदान । जुन एक क्रान्तिभन्दा कम थिएन ।

त्यसबेला हवाईजहाजहरू राम्ररी बनाइएका हुँदैन थिए । इन्जिनियरिङमा गम्भीर समस्या थियो । त्यसमाथि खराब मौसम र पाइलटको गल्तीका कारण पनि दुःखद घटना हुन्थे । तर ती त्यस्ता घटना बने, जसले गर्दा अहिलेको उडान सुरक्षित बनेको छ ।

आजकल कुनै पनि विमानमा रोल्स-रोयस इन्जिन छ भने त्यसलाई राम्रो मानिन्छ । तर कुनै समय यही इन्जिन भएको विमानबाट चार्ल्स रोल्स नामका एक पाइलटको ज्यान गएको थियो । उनी बेलायतको पहिलो हवाई दुर्घटनामा मृत्यु हुने व्यक्ति हुन् ।

त्यस्तै यही प्रसिद्ध रोल्स-रोयस इन्जिन डिजाइन गर्ने रोय चाडविक पनि विमान दुर्घटनामा परेर नै स्वर्गीय भएका थिए । सन् १९४७ को अगस्टमा आफ्नो विमानको प्रोटोटाइप एभ्रो ट्युडर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।

चाडविक हवाई दुर्घटनामा परेर मृत्यु हुँदा त्यसबेला भर्खर विमान उद्योगले गति लिँदै थियो। यो कुरो दोस्रो विश्व युद्धअघिको हो । त्यसबेला धनाढ्य, साहसी, सरकारी अधिकारी र केही भाग्यमानी पत्रकारहरूले मात्र हवाई यात्रा गर्ने अवसर पाउँथे ।

त्यसताका हवाईजहाज साना भएपनि अहिलेका पहिलो श्रेणीका जहाजको क्याबिन जस्ता थिए । तर अहिले विमान उद्योग अर्बौं डलरको भइसकेको छ । सामान्य व्यक्तिदेखि धनाढ्य जो पनि चढ्न सक्ने भएका छन् । अहिले त व्यक्ति बोक्ने मात्र नभएर सामान ढुवानीको राम्रै माध्यम पनि हवाईजहाज भएको छ ।

इतिहासमा तीव्र गतिमा उड्न सक्ने विमान बनाउने क्रममा धेरै पाइलटहरूले ज्यान गुमाएका छन् । यस खालको दौड सन् १९५० को दशकमा भएको थियो । तर ती दुर्घटनाले नै विमानको प्राविधिक तथा सञ्चालन पक्षमा सुधार आएका हुन् । अनि नागरिक उड्डयन सम्बन्धी ऐन-नियम निर्माण गरिएका हुन् ।

इतिहास केलाउँदा द हाभिल्यान्डको कोमेट दुर्घटना निकै डरलाग्दो मध्येमा पर्छ । एक वर्षको अन्तरालमा यो कम्पनीका तीन ओटा कोमेट जहाज उडानको क्रममा दुर्घटना परेका थिए ।

सन् १९५२ मा ब्रिटिश ओभरसिज एयरवाइज कर्पोरेसन (बीओएसी) अन्तर्गत सेवा सुरु गरिएको कोमेट विश्वकै पहिलो जेट एयरलाइनर (ठूलो आकारको जहाज) थियो। त्यसबेला यसले एटलान्टिक महासागर पार गर्न सक्थ्यो । त्यो हेरेर धेरैले बेलायतले विमान उद्योगमा राज गर्ने अनुमान गरेका थिए । तर त्यस्तो हुन पाएन ।

सन् १९५३ र १९५४ को बीचमा उडान भरेको केही समयमा नै तीन ओटा कोमेट दुर्घटनामा परे । त्यहाँ सवार सबैको मृत्यु भयो । ती तीनमध्ये दुई ओटा भू-मध्य सागर र एउटा कोलकातादेखि दिल्ली जाँदा दुर्घटनामा परेको थियो । त्यसपछि कोमेटको उडान बन्द गरियो भने ब्रिटिश जेटको उत्पादन नै रोकियो ।

तर यही कोमेटको दुर्घटनामाथि गरिएको अनुसन्धानले उड्डयन सुरक्षामा नयाँ माइलस्टोन तय गर्‍यो । उक्त घटनालाई रोयल एयरक्राफ्ट इस्ट्याब्लिसमेन्ट (आरएई), फार्नबरोका निर्देशक सर आर्नोल्ड हलको नेतृत्वमा अध्ययन गरिएको थियो । त्यस अध्ययनले कोमेटमा प्रयोग गरिएको धातु कमजोर हुँदा दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

अध्ययनका लागि दुर्घटना भएको विमानको सानो प्रतिरूप बनाएर पानीको ठूलो ट्याङ्कीमा परीक्षण गरिएको थियो । सो क्रममा कोमेट विमानको ढोका र झ्यालहरू चर्केको पाइएको थियो। त्यसो हुनुको कारण विमान धेरै पटक प्रेसराइजेशन साइकल (विमानमा चाप घटाउने/बढाउने)बाट गुज्रिनु थियो । किनकि उडानको क्रममा यात्रुको आरामको लागि विमानमा हावा भर्ने र इन्जिनहरू बन्द भएपछि हावा निकाल्ने गरिन्थ्यो ।

यसपछि नै विमानको झ्याललाई वर्गाकारबाट गोलाकार बनाइएको थियो । यसका साथै अन्य प्राविधिक पक्ष तथा डिजाइनमा समेत ठूलो परिवर्तन गरिएको थियो । तिनै सुधारलाई समेटेर पछि बनेका कोमेटहरू भने सुरक्षित बने ।

ती मध्येको एक एयर रिकनिसेन्स निम्रोड हो, जुन सन् २०११ सम्म सेवामा थियो । यस विमान रोयल एयर फोर्स (आरएएफ) अन्तर्गत चलाइएको थियो ।
पछि आरएएफकै विमानहरूको प्राविधिक पक्षलाई सेमेटेर अमेरिकाका इन्जिनियरहरूले बनाएको बोइङ र डगलस अत्यन्त सफल जेटलिनरहरूमा पर्छन् । यिनका विमानले एटलान्टिकमा मात्र नभइ लामो दूरीको सेवामा प्रभुत्व नै जमाउन सकेका छन् ।

यसरी कोमेटमा यात्रा गरेकाहरू अनुसन्धान र विकासको लागि साधन बनेका थिए । त्यसो गर्नु डरलाग्दो अवस्था भए पनि त्यसबेला बाध्यता नै थियो । सायद त्यही कारण हुन सक्छ, प्रारम्भिक दुर्घटनापछि कोमेट र अन्य ब्रिटिश जेटहरूको बिक्री कहिल्यै उचाइमा पुग्न सकेन । यतिसम्म कि कोमेटलाई सबैभन्दा सुरुमा बनाउने कम्पनीले नै यसको प्रयोग गरेन । पछि भने कोमेटको रबाफलाई बोइङ ७०७ ले विस्थापित नै गरिदियो ।

यदि हाभिल्याण्डले सन् १९५२ मा सबै कुरा ठीक पारेको भए ८०० सिट भएको कोमेट अहिले देख्न सकिने सम्भावना थियो ।

यसैबीच फार्नबरोमा आरएईले विकास गरेको विमान उद्धार, मर्मत र अनुसन्धान विधिहरू आज पनि प्रयोगमा छन् । सन् १९५६ मा ग्रान्ड क्यानियनको आकाशमा टीएडब्लु सुपर कन्स्टेलेसन र युनाइटेड एयरलाइन्स डीसी ७ विमान एक आपसमा ठोक्किएका थिए । त्यसबाट १०० भन्दा बढीको ज्यान गएको थियो । तर त्यस घटनाले एयर ट्राफिक कन्ट्रोल प्रणालीलाई सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यसरी निरन्तर विमान दुर्घटना बढ्दै जाँदा सन् १९५८ मा फेडरल एभिएसन एजेन्सी (एफएए) को गठन भयो । यसपछि उड्डयन क्षेत्रमा ठूलो परिवर्तन आयो । यस नयाँ निकायलाई अमेरिकी हवाई क्षेत्रमा पूर्ण अधिकार दिइएको थियो । यतिसम्म कि सैन्य उडानहरू समेत यही निकायलाई हेर्न अधिकार थियो । विशेष गरी विमानहरूको ट्र्याक गर्ने र तिनको सुरक्षा गर्ने जिम्मा यस निकायको थियो ।

त्यही समयमा राडार, रेडिओ, ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जस्ता प्रविधिको विकासले हवाई यात्रालाई थप सुरक्षित बनाउन भूमिका खेले । यिनै प्रविधिका कारण पछिल्लो ५० वर्ष यता दैनिक ३० हजार विमान आकाशमा उड्दा कहिल्यै पनि एक आपसमा ठोक्किएका छैनन् । 

अन्य दुर्घटनाहरूले पनि आजको सुरक्षित हवाईमा ठूलो योगदान गरेका छन् । ककपिट रिसोर्स म्यानेजमेन्ट, स्मोक डिटेक्टर र स्वचालित आगो निभाउने प्रणाली, हावाको बहाव जाँच्ने यन्त्र, आगो नलाग्ने सामग्रीहरू विमानमा प्रयोग आउनु कुनै बेलाको भयानक दुर्घटनाको उपज हुन् ।

सन् १९८८ को अप्रिलमा अमेरिकाको हिलोदेखि होनोलुलुसम्मको उडानमा रहेको एलोहा ७३७ को विमानमा समस्या आयो । त्यसबेला उक्त विमान जमिनदेखि २४,००० फिटको उचाईंमा थियो । विमानको समस्याकै कारण एक यात्रु विमानबाट फुत्तिएका थिए । जबकि अन्य सबै यात्रु बाँचे । उक्त विमान पहिलेका कोमेटभन्दा कयौं बढी रिप्रेसराइजेसनमा थियो ।

उक्त घटना पछि एफएएले नेसनल एजिङ एयरक्राफ्ट रिसर्च प्रोग्राम चलायो । त्यसको उद्देश्य कुनै पनि विमानलाई लामो समयसम्म सुरक्षित तरिकाले कसरी टिकाउन सकिन्छ भन्ने कुरा पत्ता लगाउनु थियो । उक्त प्रोग्रामको अध्ययनले अमेरिकामा मात्र नभइ विश्वभर नै विमानको सुरक्षा बढाएको छ ।

सन् १९८५ को अगस्टमा जापानी एयरलाइन्सको बोइङ ७४७ टोकियोदेखि ओसाकातर्फ जाँदै थियो । तर केबिन प्रेसर, हाइड्रोलिक लिक्विड फ्लुइड र भर्टिकल स्टेबलाइजर गुम्दा सवार ५२० यात्रुले ज्यान गुमाउन पुगे । उक्त विमान बाहिरबाट हेर्दा सुरक्षित देखिन्थ्यो । तर केही वर्ष अघि गराइएको खराब मर्मतसम्भारका कारण विमान दुर्घटनामा परेको पाइएको थियो ।

त्यस्तै सन् १९९८ को सेप्टेम्बरमा स्विस एयर एमडी ११ आगलागीका कारण दुर्घटनाग्रस्त भयो । न्यूयोर्कदेखि जेनेभा जाँदै गरेको उक्त विमानमा रहेका २२९ यात्रुको नै मृत्यु भयो । त्यस विमानमा आगलागी लाग्नुको कारण विमानको मनोरञ्जन प्रणालीमा खराबी आउनु थियो । यसपछि विमानमा आगो प्रतिरोधक सामग्री प्रयोग गरिन थालेको हो ।

सन् २००० को जुलाइमा कन्टिनेन्टल एयरलाइन्स डीसी १० उड्नै लाग्दा आफ्नै शरीरबाट गिरेको धातुको टुक्राले टायर काटिन पुग्यो । लगत्तै विमानको इन्धन रहेको ट्याङ्कमा पनि असर पर्यो । जसले गर्दा आगो लाग्न थाल्यो । र त्यसपछि नियन्त्रण बाहिर जाँदा विमान एक होटलमा ठोक्किन पुग्यो । त्यसघटनामा १०० यात्रु, ९ चालक दल र होटलका ४ जना कर्मचारीले ज्यान गुमाएका थिए । यसपछि विमानको इन्धन ट्याङ्क र टायरमा व्यापक तरिकाले सुधार गरिएको छ ।

यसरी इतिहासमा हामीले निकै डरलाग्दा विमान दुर्घटनाहरू देख्नु परेको छ । सयौंको परिवार उजाड बनेको छ । प्रियजन, आफन्त गुमेको छ । तर उनीहरूको बलिदानकै कारण आज हाम्रो हवाई यात्रा सबैभन्दा सुरक्षित छ । मानव जातिले कठिन पाठहरूबाट सिकाइ गरेर नै हवाई यात्रा यहाँ आइपुग्न सम्भव भएको हो ।

‍-अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज १६, २०८१ १८:३३