close

एनसेलको नेटवर्कमा समस्या: दूरसञ्चार प्राधिकरणको असहयोगले प्रयोगकर्ता मर्कामा

टेकपाना टेकपाना

असोज १६, २०८१ २१:५७

एनसेलको नेटवर्कमा समस्या: दूरसञ्चार प्राधिकरणको असहयोगले प्रयोगकर्ता मर्कामा

काठमाडौं । हालैको वर्षा, बाढी र पहिरोका कारण दूरसञ्चार सेवा प्रदायक एनसेलको सेवा निकै प्रभावित भएको पाइएको छ । प्रकोपले एनसेलका सयौं टावरहरू डाउन हुँदा विभिन्न स्थानमा सेवा अवरुद्ध भएको थियो ।

एनसेलले पहिलेदेखि नै आफ्नो नेटवर्क सुधार र विस्तारका लागि ७०० ओटा टावरको काम रोकिएको जानकारी दिएको थियो । गएको शुक्रबार र शनिबारको भारी वर्षाले कम्पनीका थप ३६० बढी टावरहरू डाउन भएको कम्पनी स्रोतले जानकारी दिएको छ । 

यस अन्तर्गत बागमती र गण्डकी प्रदेशका टावरहरू बढी प्रभावित भएका छन् । यसका साथै वर्षा र पहिरोले दर्जनौं ठाउँहरूमा फाइबर चुँडिएको र विद्युत आपूर्ति पनि रोकिएको छ ।

“बाढी र पहिरोका घटनापछि एनसेलको नेटवर्कमा कन्जेसन झण्डै ३० प्रतिशतले बढेको छ, र ग्राहकका गुनासो पनि दुई गुणा वृद्धि भएको छ,” एनसेल सम्बद्ध स्रोतले भन्यो ।

अर्कोतर्फ नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विगत १० महिनादेखि विदेशी मुद्रा स्वीकृति र सिफारिस रोकिराखेको अवस्था छ । यस कारण एनसेलको सेवा विस्तार र सुधारका काम रोकिएका छन् भने ब्यान्डविथ तथा विदेशी परामर्शदातालाई भुक्तानी गर्न समस्या आएको छ ।

प्राधिकरणले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको दस्तुर चुक्ता नगरेको कारण देखाउँदै सम्पूर्ण सहजीकरणका कामहरूमा एनसेललाई रोक लगाउँदै आएको छ । कुनै पनि कामका लागि विदेशी मुद्रामा भुक्तानी गर्न एनसेलले पहिला प्राधिकरण, त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तिममा नेपाल राष्ट्र बैंकको अनुमति लिनु पर्ने हुन्छ ।

“भुक्तानीका लागि एनसेलले कुनै पनि एलसी खोल्न पाएको छैन, न त टीटी गर्न सकेको छ,” स्रोतले भन्यो । प्राधिकरणले सटही सेवाका लागि सिफारिस रोकेपछि गत असारमा इन्टरनेट सेवाका लागि ब्यान्डविथ प्रदान गर्ने टाटा कम्युनिकेसन्स इन्टरनेसनलले बक्यौता नतिरेको भन्दै एनसेललाई ब्यान्डविथ दिन बन्द गरेको थियो ।

एनसेलले प्राधिकरणलाई जानकारी गराए अनुसार सो घटनापछि कम्पनीको सेवा सञ्चालनमा प्रत्यक्ष असर परेको छ । अहिले एनसेलले अर्को विदेशी ब्यान्डविथ सेवा प्रदायक कम्पनीबाट ब्यान्डविथ ल्याएर सेवा दिंदै आइरहेको छ ।

आगामी दिनमा ब्यान्डविथसँग सम्बन्धित सेवा वापतको रकम समयमा भुक्तानी गर्न नसकेमा अन्य ब्यान्डविथ आपूर्तिकर्ताबाट समेत थप क्यापासिटी शटडाउन हुने सम्भावना रहेको र यसले कम्पनीको सेवा नै अवरुद्ध हुनसक्ने अवस्था सिर्जना भएको एनसेलले प्राधिकरणलाई जानकारी गराएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८१ १६:४१