close

दशैं-तिहारको बिदामा प्राविधिक सीप सिक्ने च्यालेन्ज 'लर्निङ उत्सव' हुँदै, यसरी बन्ने सहभागी ?

टेकपाना टेकपाना

असोज १७, २०८१ १२:२४

दशैं-तिहारको बिदामा प्राविधिक सीप सिक्ने च्यालेन्ज 'लर्निङ उत्सव' हुँदै, यसरी बन्ने सहभागी ?

 

काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेजको केईसी इलेक्ट्रोनिक्स क्लबको नेतृत्वमा कम्प्युटर क्लब र देशभरका दर्जनभन्दा बढी क्लबहरूको सहकार्यमा "लर्निङ उत्सव" नामक विशेष कार्यक्रम आयोजना हुने भएको छ। ​घटस्थापनादेखि सुरु हुने यो कार्यक्रम भाइटीकासम्म अर्थात् ३२ दिनसम्म सञ्चालन हुनेछ । 

कार्यक्रममा सहभागीहरूले ३० दिनसम्म लगातार आफ्नो सीप अभिवृद्धि गर्न काम गर्नुपर्नेछ र सिकेको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । कार्यक्रमले विद्यार्थीहरूलाई बिदाको समयमा केही समय छुट्याएर नयाँ र उपयोगी सीपहरू सिक्न प्रोत्साहित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । पाँच प्रमुख विधामा आधारित यो उत्सवमा इलेक्ट्रोनिक्स, क्लाउड कम्प्युटिङ, एआई तथा डेटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट र साइबर सेक्युरिटी समावेश छन् ।

आयोजकका अनुसार यसले सहभागी विद्यार्थीहरूको भविष्यलाई सशक्त बनाउन मद्‍दत पुर्‍याउने छ । यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको लामो बिदालाई थप फलदायी बनाउनु र उनीहरूलाई नयाँ सीप सिक्न प्रेरित गर्नु हो । 

यो पहलले विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सघाउ पुर्‍याउने र केही समय छुट्याएर नयाँ कुरा सिक्न सकिने वातावरण बनाउने केईसी इलेक्ट्रोनिक्स क्लबले जनाएको छ । निरन्तर लगनशीलताका साथ ३० दिनको चुनौती पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र प्रदानुका साथै उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक उपहार र पुरस्कार पनि दिइनेछ । 

कार्यक्रम घटस्थापनादेखि सुरु भए तापनि इच्छुक सहभागीहरूले १८ असोजसम्म फारम भर्न सक्नेछन् । १८ गतेपछि सहभागी हुनेले भने ३० दिनको अवधिमा नियमित रूपमा सिकाइका लागि समय छुट्याउनु पर्नेछ। सहभागी हुन इच्छुकहरूले यहाँ क्लिक गरेर रजिस्ट्रेसन गराउनु पर्नेछ । 

 

पछिल्लो अध्यावधिक: असोज १७, २०८१ १२:२४