close

भारतीय बजारमा सार्वजनिक भयो मसाज गरिदिने सिट भएको किया ईभी-९, अरू विशेषता अनि कति छ मूल्य ?

टेकपाना टेकपाना

असोज १७, २०८१ २०:३५

भारतीय बजारमा सार्वजनिक भयो मसाज गरिदिने सिट भएको किया ईभी-९, अरू विशेषता अनि कति छ मूल्य ?

काठमाडौं । कियाले भारतीय बजारमा आफ्नो ‘फ्ल्यागशिप सेग्मेन्ट' को विद्युतीय एसयूभी किया ईभी- ९ सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको ६ महिनापछि कम्पनीले किया ईभी- ९ भारतीय बजारमा सार्वजनिक गरेको हो ।

किया इन्डियाले भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोयडाको अटो एक्स्पो भेन्युमा एक कार्यक्रम गर्दै भारतीय बजारका लागि ईभी- ९ को बुकिङ थालेको हो ।  गाडीको डेलिभरी भने  आगामी महिनादेखि  सुरु हुने बताइएको छ । इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा (EGMP )  निर्माण भएको किया ईभी -९ कियाको हालसम्मकै सबै भन्दा महँगो र विलासी एसयूभी मानिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा ईभी- ९ का ईभी-९ एअर , ईभी -९ ल्यान्ड र ईभी- ९ जीटी गरी ३ ओटा भेरियन्ट उपलब्ध छन् । भारतीय बजारमा भने ईभी- ९ जीटी लाइन भेरियन्ट मात्र सार्वजनिक भएको हो । ग्राहकहरूले यसमा स्नो व्हाइट पर्ल, ओसन ब्लु , पेबल ग्रे, प्यानथेरा मेटल र अरोरा ब्ल्याक पर्ल गरी ५ ओटा कलर अप्सन प्राप्त गर्न सक्नेछन् । 

९९. ८ किलोवाट ब्याट्री क्षमता रहेको यस एसयूभीले सिङ्गल चार्जमा ५६१ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यस्तै डुअल मोटर सिस्टम जडित यो गाडीले ३८३ ब्रेक हर्स पावर र ७०० एनएमको संयुक्त ‘आउटपुट' दिने भएकाले मात्र ५. ३ सेकेन्डमा ० देखि १०० किलोमिटरको वेग प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ । एक्स्टेरियरको बारेमा कुरा गर्नु पर्दा किया ईभी- ९ को अगाडिको भागमा कियाको आइकनिक टाइगर नोज ग्रिल डिजाइनका साथै आकर्षक स्लिक हेडलाइट देख्न सकिन्छ । 

त्यस्तै यसमा रहेको स्लोपी रुफलाइनको कारण गाडी स्पोर्टी पनि देखिन्छ । यो बाहेक  ईभी जीटी लाइन भेरियन्टमा २० इन्चको एलोय ह्विल रहेको छ भने कम्पनीले यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको जनाएको छ । जसले गर्दा अफरोडमा पनि ईभी-९ को पर्फमेन्स राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।

इन्टेरियरको कुरा गर्नु पर्दा भारतमा सार्वजनिक भएको ईभी- ९ जीटी लाइन छ सिटे एसयूभी हो । कम्पनीले गाडीमा उच्च गुणस्तरको सफ्ट टच सर्फेस प्रदान गरेको छ भने एम्बियन्ट लाइटिङ , हिटेड एन्ड भेन्टिलेटेड सिट , अगाडिको सिटमा मसाज फङसन र थ्री जोन क्लाइमेट कन्ट्रोल सिस्टमको सुविधा दिएको छ । 

गाडीमा १२. ३ इन्चको डुअल डिस्प्ले सिस्टम पनि प्रदान गरिएको छ । यसमा ८२ क्युबिक फिट अर्थात् २ हजार ३२० लिटर क्षमताको कार्गो स्पेस रहेको छ । भारतीय बजारमा यो एसयूभीको मूल्य १ करोड ३० लाख भारु तोकिएको छ ।    

                             

 

 

पछिल्लो अध्यावधिक: असोज १७, २०८१ २०:३५