काठमाडौं । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्ट विषयको पुस्तकको नेपाली संस्करण सार्वजनिक गरेको छ । शुक्रबार एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सीएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको छ । कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि जरुरी रहेको बताए ।
उनले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि जर्नलिजम एकेडेमीले खेलेको भूमिकाको पनि सराहना गरे । साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरू महत्वपूर्ण हुनेमा जोड दिए ।
लेखिका हेगडर्नले पडकास्टिङको महत्त्वको विषयमा प्रकाश पारेकी थिइन् । पडकास्टिङ उत्पादनका लागि के-कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभूतियुक्त बनाउन के गर्ने र यसको बजारीकरणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिएकी थिइन् ।
त्यसका साथै पडकास्टिङबाट के-कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन् । “पछिल्लो समय स्पोटिफाईले भिडिओ पडकास्टलाई पनि विशेष प्राथमिकता दिन थालेको छ,” लेखिका हेगडर्नले भनिन्, “लक्षित श्रोता तथा दर्शक पहिचान, भावनात्मक, समय सापेक्ष र पृथक पडकास्ट बनाउन सके राम्रै आम्दानी गर्न सकिन्छ ।”
कार्यक्रममा सीएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सीएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरूसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान सञ्चालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिवृद्धिको कार्यक्रमलाई जोड दिएको बताए ।
नेपाल फ्याक्टचेक सुरु गरेर मिथ्या सूचनाको तथ्यजाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारहरूलाई डेटा ड्रिभन जर्नालिज्म, मोबाइल जर्नालिज्म, पडकास्टिङ, डिजिटल सुरक्षा, तथ्यजाँच लगायतका तालिम दिने कार्य गरेको उनले जानकारी दिए ।
एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र हालसम्म १४६ पत्रकारहरूलाई तालिम दिइसकेको जनाए ।
एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडेमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रविराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन् ।