close

दशैं मनाउँदै युट्युबमा हेर्नुहोस् यी १५ नेपाली फिल्म

टेकपाना टेकपाना

असोज २४, २०८१ ९:३५

दशैं मनाउँदै युट्युबमा हेर्नुहोस् यी १५ नेपाली फिल्म

काठमाडौं । नेपाली समाजमा भित्रिसकेको दशैं तुलनात्मक रूपमा अलि लामो हुन्छ । आफन्त, साथीभाइ र परिवारसँग बस्ने, रमाइलो गर्ने बाहेक प्रशस्तै फुर्सद हुन्छ । चाडपर्वको यो महत्त्वपूर्ण समयलाई अझ विशेष बनाउन मानिसहरू एकसाथ बसेर मनोहर नेपाली चलचित्रहरूको मजा लिन समय निकाल्न सक्छन् ।

आज हामी चाडबाडको समयमा हेर्न सकिने नेपाली १० चलचित्रबारे जानकारी दिँदै छौं:

कागबेनी (२००८)

‘कागबेनी’ सन् २००८ को नेपाली चलचित्र हो । बेलायती लेखक डब्ल्यू.डब्ल्यू. जेकब्सको छोटो कथा ‘द मोन्किज प्वा’मा आधारित रहेर बनाइएको छ । कागबेनीले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरेको बताइन्छ । त्यस्तै सफल हुने पहिलो नन् कर्मशियल चलचित्र पनि मानिन्छ । साथै चलचित्रको सिनेम्याटोग्राफीलाई निकै प्रशंसा गर्ने गरिन्छ । 

वर्षौं नभेटेका साथीहरू कृष्ण (निमा रुम्बा) र रमेश (सौगात मल्ल) को भेटपछि केके हुन्छ भन्ने कुरा नै चलचित्रमा देखाइएको छ । पत्रकार भूषण दाहाल निर्देशित कागबेनी एउटा हरर चलचित्र हो । 

चलचित्रमा दिया मास्के, पूजा गुरुङ, विवेक गुरुङ, हनिफ मोहम्मद लगायतको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् । 

कबड्डी सिरिज

अहिलेसम्म कबड्डी सिरिजमा चार ओटा चलचित्र बनेका छन् । यो नेपाली सिने क्षेत्रको सफल सिरिज मध्येको हो । सबै चलचित्रले बक्स अफिसमा आक्रामक कमाइ गरेका छन् । सबैभन्दा पहिले २०१४ प्रदर्शनमा भएको कबड्डी नेपाली सिनेमाको लागि नयाँ थियो ।

त्यसपछि क्रमशः कबड्डी कबड्डी (२०१५), कबड्डी कबड्डी कबड्डी (२०१९) र कबड्डी ४ : द फाइनल म्याच (२०२२) हलमा रिलिज थिए । यस सिरिजले नेपाली सिने जगतमा थुप्रै नयाँ पात्रहरू दिन सफल भयो । कलाकारहरूलाई स्थापित हुन पनि सहयोग गर्यो ।

कबड्डी सिरिजका सबै चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् । 

घामपानी

चलचित्र समीक्षक दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको घामपानी सन् २०१७ मा हलमा रिलिज भएको थियो । बक्स अफिसमा रेकर्ड राखेको यो चलचित्रले बाल्यकालका दुई साथी फुर्वा तामाङ (दयाहाङ) र तारा शर्मा (केकी) बाल्यकालदेखिको कथा भन्छ ।

फुर्बा शिक्षिक भएर गाउँमै बस्छन्, तारा उच्च शिक्षा लिन काठमाडौं जान्छिन् । तारा बिदामा गाउँ आउँदा उनीहरूबीचको घनिष्ट सम्बन्ध झनै बढ्छ । उनीहरूका बुबाहरू निकै मिल्ने साथी र छिमेकी हुन् । केही समयपछि सो कुरा उनीहरूका परिवारले थाहा पाउँछन् । यसपछि के हुन्छ, त्यो चलचित्रले भन्छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

घामड शेरे (२०१९) 

हेम राज बीसीद्वारा निर्देशित घामड शेरे रोमान्टिक ड्रामा हो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यस चलचित्रमा उनीहरूलाई पहिलो पटक स्क्रिन शेयर गराइएको छ । चलचित्रमा उनीहरूले सालीभेनाको पात्र खेलेका छन् । 

शेरे (निश्चल) आफ्नो गाउँमा केही गर्ने संकल्प लिएर विदेशबाट फर्किएका हुन्छन् । सोही सन्दर्भमा स्थानीय नेताको सहयोगमा बाढीले बगाएको जग्गा किनेर खेती गर्न थाल्छन् । अकास्मात एक दिन बाढी आएर उनको जमिन बगाएर जान्छ । त्यसपछि के हुन्छ, सो कुरा यस चलचित्रले भनेको छ ।

चलचित्रमा रियल जोडी निश्चल-स्वस्तिमासँगै गौरी मल्ल, सुष्मा निरौला र बादल भट्टले अभिनय गरेका छन् । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

झोला (२०१३)

लेखक कृष्ण धरावासीको 'झोला' नामको उपन्यासमा आधारित भएर यो चलचित्र बनाइएको छ । मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्नुपर्ने सतीप्रथाको कथा नै चलचित्रको मेरुदण्ड हो । चलचित्रलाई यादव कुमार भट्टराईले निर्देशन गरेका छ्न् ।

यस चलचित्रलाई ८७ औँ एकेडेमी पुरस्कारको लागि पठाइएको थियो । साथै आफ्नो भूमिकाको लागि अभिनेत्री गरिमा पन्तले सन् २०१४ मा सार्क चलचित्र फेस्टिबलमा सर्वोत्कृष्ट अभिनेत्रीको जितेकी थिइन् ।

चलचित्रमा नायिका पन्तसँगै देशभक्त खनाल, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । नेपालीको ऐतिहासिक प्रथाबारे बुझ्न यस चलचित्रले सहयोग गर्छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् । 

जारी (२०२३)

युट्युबमा हालै मात्र आएको नेपाली चलचित्र हो, जारी । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ । गत वर्षको ब्लकबस्टर यस चलचित्रमा नामसाङ (दयाहाङ) र उनकी श्रीमती हाङ्मा (मिरुना) बीच कथा छ । उनीहरूबीच विवाह भइसकेपछि दिनहुँ जस्तो झगडा हुन्छ । अति भएछि हाङ्मा आफ्नो आमाबुवाको घर फर्किन्छिन् । र एक दिन अर्को पुरुष (रोयदीप) सँग भाग्छिन् । त्यसपछि के हुन्छ, चलचित्रमा देखाइएको छ । 

चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ । युट्युबमा ‘जारी’ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तान्द्रो (२०१६) 

माओवादीले सशस्त्र आन्दोलन चलाइरहेको समयमा सांस्कृतिक कार्यक्रम पनि गर्थ्यो । उसले त्यस्तै खालको कार्यक्रम २०६० चैत २८ गते लमजुङको छैलुङ गाउँमा गरिरहेको थियो । तर उनीहरूलाई सरकार पक्षका सुरक्षा फौजले आक्रमण गर्यो । आक्रमणमा उक्त टोलीका नेता गंगाबहादुर लामालाई घुँडामा गोली लाग्यो ।

त्यसपछि उनी पाँच दिनसम्म सोही गाउँमा छटपटाउनु परेको थियो । ‘तान्द्रो’ मा त्यही घटना देखाइएको छ । साम्तेन भुटियाले निर्देशन गरेको यो चलचित्र उनै लामाले लेखेको पुस्तक ‘स्मृतिका दोभारु’मा आधारित छ ।

यो चलचित्र ढाकामा १९औँ अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा छनोट भएको थियो । चलचित्रमा दयाहाङ राई, मणिराम पोखरेल, रामबाबु गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय हेर्न पाइन्छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् । 

धनपति (२०१७)

दीपेन्द्र के खनालको निर्देशन र खगेन्द्र लामिछाने लेखन रहेको धनपति एक रोमान्टिक र राजनीतिक चलचित्र हो । लेखक लामिछानेको कथा संग्रह फूलानीमा रहेको एक कथामा आधारित रहेर बनाइएको चलचित्रमा उनै लामिछाने र सुरक्षा पन्तको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा धनपति (खगेन्द्र)ले आफ्नी छोरीलाई राम्रो स्कुलमा पढाउन पैसा कमाउन संघर्ष गरिरहेका हुन्छन् । पैसा पुगिरहेको हुँदैन । यस्तैमा पैसा कमाउन राजनीतिमा जाने निर्णय गर्छन् । त्यसपछि के हुन्छ, चलचित्रले भनेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

दासढुङ्गा (२०१०)

नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय मृत्युको घटनामा आधारित भएर दासढुङ्गा चलचित्र बनाइएको छ । चलचित्रमा २०५० जेठ ३ मा चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनासम्बन्धी कथा समेटिएको छ । यो चलचित्र सोही घटनाबारे विभिन्न आयोगले पेस गरेको प्रतिवेदनमा आधारित छ । 

मनोज पण्डित निर्देशित चलचित्रमा सौगात मल्ल, अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत लगायतको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् । 

नुमाफुङ (२००१)

सन् २००१ मा हलमा लागेको नुमाफुङ लिम्बु समुदायको कथामा आधारित छ । नविन सुब्बा निर्देशित चलचित्रले लिम्बु समुदायको संस्कृति र परम्परालाई चित्रण गर्छ । यो चलचित्र तेह्रौँ फिनिस आदिवासी चलचित्र महोत्सवमा समेत प्रदर्शन गरिएको थियो । चस चलचित्रले दुई ओटा अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको छ । 

त्यस्तै सन् २००३ मा बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा रनर-अप र फ्रान्समा भएको बिजुल अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा अडियन्स च्वाइस अवार्ड जितेको छ ।   

चलचित्रमा एउटा गाउँले नेपाली किशोरी नुमा (अनुपमा सुब्बा)को संघर्षलाई देखाइएको छ । जुन नेपालका अन्य धेरै किशोरीहरूको कथा हो । आफ्नो व्यक्तिगत आकांक्षा र सांस्कृतिक रीतिरिवाजमा कसरी एउटा किशोरी रुमलिन्छे भन्ने कथा यसमा देखाइएको छ । यो चलचित्रलाई धेरै समीक्षकहरूले उत्कृष्ट नेपाली चलचित्र भएको बताएका छन् । 

चलचित्रमा अनुपमा सुब्बा, निवाहङ्मा लिम्बु, प्रेम सुब्बा, आलोक नेम्वाङ र रमेश सिंहकको मुख्य भूमिका रहेको छ । लिम्बु समुदायको कथा बुझ्न यो चलचित्रले पक्कै सहयोग गर्छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् । 

बधशाला (२०१३)

लेखक जीतमान बस्नेतको ‘अँध्यारा २५६ दिनहरु’ नामक पुस्तकमा आधारित रहेर यस चलचित्र बनाइएको छ । यो चलचित्रले १० वर्षे माओवादी सशस्त्र जनयुद्धताकाको कथा देखाएको छ । 

त्यस समय नेपाली सेनाले माओवादीका नाममा जनतालाई कसरी दुःख दिएको थियो भन्ने पक्ष उजागर गरिएको छ । चलचित्रलाई केही समयका लागि नेपालमा प्रतिबन्ध समेत लगाइएको थियो । 

तर, निर्माताहरूले केही दृश्य हटाएपछि प्रदर्शनको लागि अनुमति पाएको थियो । मनोज पण्डितले निर्देशित यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अनुप बराल, अर्पण थापा लगायतले अभिनय गरेका छन् । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

फुलबारी (२०२३)

फेब्रुअरी २०२३ मा नेपालभर रिलिज भएको यस चलचित्रले एउटा परिवारको कथा भन्छ । घरपरिवारको अहिलेको कथा-व्यथालाई चलचित्रले चित्रण गरेको छ । कथा परिवार सम्बद्ध भएकाले तपाईंले आफ्नो परिवारसँग बसेर हेर्न सक्नुहुन्छ । 

जी २१ प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् भने कथा उपेन्द्र सुब्बाले लेखेका छन् । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की र अन्य कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

मुकुण्डो (२०००)

यस चलचित्रले एउटा दम्पतीको कथा भन्छ । आफ्नो बच्चा गुमाएपछि उनीहरू अध्यात्मतिर ढल्कन्छन् । त्यसपछि उनीहरूले के के गर्छन् ? के के हुन्छ ? चलचित्र यिनै कुराहरूको वरपर रहेको छ । 

‘मुकुण्डो’लाई ७३ औँ एकेडेमी अवार्डमा (ओस्कर) मा नेपालबाट पठाइएको थियो । साथै सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भ्यानकुभर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, गोटेनबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फ्राइबोर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जस्ता धेरै प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भएको थियो । 

समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, रतन सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

लुट (२०१२) 

नेपाली सिनेमा क्षेत्रमा लुटलाई एउटा घुम्ती मान्ने गरिन्छ । अपराध विधामा आधारित रहेको यस चलचित्र निश्चल बस्नेतको पहिलो निर्देशनमा बनेको थियो । 

चलचित्रमा हाकु काले (सौगात मल्ल) गरिबीबाट पीडित छन् । र यसबाट माथि निस्कन बैङ्क डकैती गर्ने सोचिरहेका छन् । यसका लागि उसले अन्य युवकहरूसँग छलफल गरिरहेका छन् । त्यसपछि के हुन्छ, चलचित्रले भनेको छ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रतीक राज न्यौपाने, सुशीलराज पाण्डे, ऋचा शर्मा, सृजना सुब्बा, प्रवीण खतिवडा, सुष्मा कार्की लगायत देखिन्छन् । अधिक सफल भएको यो चलचित्रपछि २०७३ मा यसको भाग दुईका रूपमा 'लुट २'  प्रदर्शनमा आएको थियो । दुवै चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् । 

हरि (२०१८) 

व्यावसायिक रूपमा सफल हुन नसके पनि कलात्मक पक्षहरूको कारण यो चलचित्र उत्कृष्ट भएको बताउने समीक्षकहरूले संख्या धेरै छ । चलचित्रले एउटा कट्टर धार्मिक र अन्धविश्वासी अधबैँसे पुरुषको कथा भन्छ । 

विपिन कार्की अभिनित चलचित्र साइकेडेलिक थ्रिलर विधामा पर्छ । चलचित्रमा हरि भनेर बढी बोलाइने विष्णु हरि (विपिन कार्की) छन्, उनले आफ्ना बुबा, हजुरबुबा र पार्वती भनेर चिनिने आमाले राखेका सबै नियमहरू एकएक पालना गर्छन् । 

तर एक दिन आकाशमा उडिरहेको एउटा चराले अचानक उसको शरीरमा दिसा गरिदिन्छ । त्यसपछि त्यो वरदान हो कि अभिशापको भनेर थाहा पाउन ऊ लागि पर्छ । त्यस क्रममा उसले भोगेका घटनाहरूमा नै चलचित्रको कथा बगेको छ ।

सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्रलाई प्रतीक गुरुङ र सफल केसीले निर्देशन छन् । त्यस्तै कमलमणि नेपाल, सुनिता ठाकुर रथिन्ले ल्हामोलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यी माथिका बाहेक पनि अन्य थुप्रै नेपाली चलचित्र यस दशैं विदामा हेर्नलायक छन् । तपाईंले आफ्नो रुचि अनुसारको चलचित्र हेर्न सक्नुहुन्छ । युट्युबमा आएका केही नेपाली चलचित्रको सूची हेरेर आफैं छान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८१ १०:५६