close

एआईले नै कन्टेन्ट नियमन गर्न थालेपछि सयौं कर्मचारी निकाल्दै टिकटक

टेकपाना टेकपाना

असोज २६, २०८१ १२:४०

एआईले नै कन्टेन्ट नियमन गर्न थालेपछि सयौं कर्मचारी निकाल्दै टिकटक

काठमाडौं । टिकटकको मातृ कम्पनी बाइटडान्सले सयौं कर्मचारी निकाल्न थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार कम्पनीले मलेसियामा कार्यरत टिकटकका कर्मचारी निकाल्न थालेको हो । 

प्लेटफर्ममा अपलोड भएका कन्टेन्ट एआईले नै नियमन गर्ने भएपछि कम्पनीले कर्मचारी हटाउन सुरु गरेको बताइएको छ‌ । यसै अन्तर्गत पहिलो चरणमा कम्पनीले मलेसियाका कर्मचारीहरूलाई निकाल्न थालेको हो । यसले कार्यरत कर्मचारीहरूलाई पनि कुनै असर पार्ने छैन । कति कर्मचारी निकाल्न लागेको भन्ने खुलिसकेको छैन । यद्यपि कम्पनीले ५०० कर्मचारी निकाल्न लागेको रिपोर्टमा उल्लेख छ ।

"हामीले सन् २०२४ भित्र ट्रस्ट तथा सुरक्षामा विश्वव्यापी रूपमा दुई अर्ब डलर लगानी गर्ने अपेक्षा गरेका छौं," टिकटकका प्रवक्ता टेकक्रन्चलाई भने, "स्वचालित प्रविधिको सहायताले हामीले ८० प्रतिशत कम्युनिटी गाइडलाइन्स उलङ्घन गर्ने कन्टेन्ट हटाएका छौं । यसैलाई सुधार गर्न हामीले लगानीको रणनीति अगाडि सारेका छौं ।"

टिकटकमा अपलोड भएका सामग्री नियमनका लागि अहिले यस प्लेटफर्मले स्वचालित प्रविधि र कर्मचारीको प्रयोग गरिरहेको छ । तर, अहिले भने कम्पनी स्वचालित प्रविधितर्फ अग्रसर छ । यस वर्षको सुरुवातदेखि नै यस प्लेटफर्मले तीव्र सङ्ख्यामा कर्मचारी हटाउन थालेको थियो । गत अप्रिलमा मात्र कम्पनीले आइल्यान्डका २५० कर्मचारीलाई निकालेको थियो । त्यस्तै कम्पनीले मार्केटिङ टिमका हजार कर्मचारीलाई निकाल्ने संकेत देखाएको छ । गत जनवरीमा कम्पनीले सेल्स एण्ड एडभर्टाइजिङका ६० कर्मचारी निकालेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८१ १२:४०