close

साथीहरूसँग ट्रेकिङ जाँदै हुनुहुन्छ ? छुट्लान् है यी सामान

टेकपाना टेकपाना

कात्तिक ३, २०८१ १७:४७

साथीहरूसँग ट्रेकिङ जाँदै हुनुहुन्छ ? छुट्लान् है यी सामान

काठमाडौं । अहिले चाडबाडसँगै ट्रेकिङको समेत समय हो । घुमफिर गर्न, सहरी जीवनबाट केही भए पनि टाढा हुन ट्रेकिङ एक राम्रो विकल्प हो । यदि यस लेख पढ्दासम्म तपाईं ट्रेकिङ गइसक्नु भएको छ भने ठीकै छ । योजना मात्र बनेको छ यो लेख तपाईंका लागि । 

हामी यस लेखमा ट्रेकिङ जाँदा के-कस्ता ग्याजेट तपाईंका लागि उपयुक्त हुन सक्छन् ? वा भनौं केके ग्याजेटहरू बोक्दा तपाईंको ट्रेक सहज हुनसक्छ त, त्यसबारे चर्चा गर्ने छौं: 

पावर बैंक

कुनै पनि ट्रेक अनि लामो यात्राका लागि अत्यावश्यक ग्याजेट हो, पावर बैंक । हुन त अहिले धेरैजसो नेपालका दुर्गम ठाउँहरूमा पनि बिजुली पुगिसकेको छ । ट्रेकिङ रुटहरूमा वैकल्पिक रूपमा पनि बिजुलीको व्यवस्थापन गरिएको हुन्छ । 

तर पावर बैंक एउटा बलियो ब्याकअप हो । जसले गर्दा तपाईंको मोबाइल कहिल्यै अफ नहोस् । त्यसैले यात्राका क्रममा तपाईं आफ्नो परिवार, साथीभाइ र प्रियजनबाट सम्पर्क विहीन हुन नपरोस् । अनि निश्चय नै यात्राका रमाइला पलहरू कैद गर्दै जानका लागि पनि त मोबाइल अन भइराख्नु पर्‍यो । अर्को कुरा आजकल त ल्यापटप समेत चार्ज गर्न सकिने क्षमताका पावर बैंकहरू बजारमा भेटिन्छन् । 

मूल्यको हिसाबले केही महँगा होलान्, तर अब यदि तपाईं भ्लगर हुनुहुन्छ, ल्यापटप बोक्नु भएको छ भने पावर बैंक काममा आउन सक्छ । यी कामका लागि कम्तीमा पनि २० हजार एमएएचको पावर बैंक बोक्नु उचित हुन्छ । 

त्यसो त अहिले बजारमा सोलार पावर बैंकहरू पनि भेटिन्छन् । यसले गर्दा यात्राको क्रममा घामको ऊर्जाले तपाईंको पावर बैंक चार्ज हुन्छ । 

जीपीएस डिभाइस 

हामी प्रविधिमा यति अभ्यस्त भइसक्यौँ कि, आजको दिनमा कतै यात्रा गर्नुपर्दा हामी पक्कै पनि नक्सा बोकेर हिड्दैनौं । नक्सा हेर्नै परे मोबाइलमै विभिन्न म्यापको  एपमार्फत हेर्छौं । 

तर मोबाइलको डेटा चलेन भने ? अथवा तपाईं पुगेको ठाउँमा मोबाइल डेटा चलेन भने ? यस्तो बेलामा तपाईंलाई जीपीएस डिभाइसहरूले ठूलो मद्दत गर्न सक्छन् । 

जीपीएस डिभाइसहरूमा पहिल्यै नक्साहरू राखिएका हुन्छन् । यस्ता डिभाइस प्रयोग गरेर तपाईं अरू कसैको भर नपरी आफैं आफ्नो बाटो पहिल्याउन सक्नुहुन्छ  । अब यो नेपालमा त्यति धेरै प्रचलनमा नभएका कारण जुनै पनि ग्याजेट स्टोरमा यो नपाउन सकिन्छ । यसो हुँदा ई-कमर्स प्लेटफर्ममा समेत यीबारे हेर्नुहोस् । 

सामान्यत: वायरलेस र वायर्ड गरी जीपीएस डिभाइस पाइन्छन् । तपाईंले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नुहुन्छ । 

स्मार्टवाच वा फिटनेस ब्यान्ड 

जीपीएस डिभाइससँगै स्मार्टवाच वा फिटनेस ब्यान्ड पनि आवश्यक डिभाइस नै हो । आजकल समान्यतया एक हप्तासम्म ब्याट्री टिक्ने स्मार्टवाच सजिलै पाइन्छन् । यसले समय हेर्ने काम मात्र नभएर अरू पनि धेरै कुरामा सहयोग मिल्छ । 

हेल्थ ट्रयाक त गरिनै हाल्छ, सँगै जीपीएस प्रयोग गर्न मिल्ने, कम्पास भएको स्मार्टवाच भए झन् गज्जब हुन्छ । फिटनेस ब्यान्ड भन्दा स्मार्टवाच अझ बढी प्रभावकारी हुन्छन् । तर तपाईंले ध्यान दिनुपर्ने कुरा भनेको राम्रो फिचर भएको, जीपीएस सिस्टम भएको अनि ब्रान्ड पनि चलेकै ब्रान्डलाई विकल्प बनाउनु भयो भने राम्रो हुन्छ । 

टर्चलाइट 

डाँडाकाँडाको यात्रा भनेको पक्कै पनि सहज हुँदैन । यात्राको टुङ्गो पनि हुँदैन । यस्तोमा केही गरी बाटोमै रात परिहाल्यो अथवा तपाईं कतै बाक्लो जङ्गलमा हराउनु भयो भने टर्चलाइटले तपाईंलाई धेरै साथ दिन्छ । 

तपाईंले क्याम्पेनिङ गर्नु भयो भने पनि टर्चलाइटले काम दिन सक्छ । यसको लागि अझ थप उपयोगी हेड टर्च अथवा हेड ल्याम्प हुनसक्छ । टक्क टाउकोमा लगायो अनि हिँड्यो । यात्रालाई यसले सहज पनि बनाउँछ ।  

ब्लुटुथ स्पिकर

अब ७-१० दिनको यात्रामा अलि अलि रमाइलो पनि त गर्नै पर्‍यो । यसका लागि तपाईंले ब्लुटुथ स्पिकर पनि साथमा लिएर जान सक्नुहुन्छ । झन् अहिले त बजारमा विभिन्न ब्रान्डका पोर्टेबल ब्लुटुथ स्पिकरहरू आएका छन्, त्यो पनि सस्तो मूल्यमा । 

फिचर हेरेर, बिल्ट क्वालिटी, ब्रान्ड लगायतका कुरा हेरेर खरिद गर्नुभयो भने झन् राम्रो हुन्छ । एउटा स्पिकर सामान्यतया दिनभर चलिहाल्छ । फेरि दिनभर त्यही सुनिरहने भन्ने कुरा पनि त हुँदैन । यसले गर्दा ब्याट्रीको पनि तनाव हुँदैन । 

इयरबड्स

हामीले माथि स्पिकरको कुरा गर्यौं । समूहमा सुन्नलाई त्यो राम्रै विकल्प हो । तर निजत्वको कुरा पनि त आउँछ । यही भएर यात्रामा जाँदै गर्दा इयरबड्स लाँदा गज्जब हुन सक्छ । 

हिडिरहँदा एक्लै गीत/अडिओ बुक/पडकास्ट सुन्न होस् या यात्री सुत्न अघि फिल्म हेर्न, इयरबड्स छ भने तपाईंको कामले सहयात्रीहरूलाई कुनै असर पर्दैन । तपाईंले बजारमा इयरबड्सका अनेकन् विकल्प पाउनुहुन्छ । 

स्मार्ट टम्बलर 

आजकल बजारमा स्मार्ट टम्बलरहरू पनि पाइन्छन् । जसमा तपाईंले तातो पानी राख्ने मात्र नभई वायरलेस चार्जिङ पनि गर्न सक्नुहुन्छ । मोबाइल स्ट्यान्डको रूपमा प्रयोग पनि गर्न सक्नुहुन्छ । यो त्यति नभइ नहुने त होइन । तर साथमा भयो भने झनै सहज होला ।   

संक्षिप्तमा अन्य टिप्स

-तपाईंसँग साथमा स्मार्टफोन भई नै हाल्छ । अब त्यसमा अफलाइन प्रयोग गर्न मिल्ने एपहरू डाउनलोड गर्नुभयो भने तपाईंको लागि उपयोगी हुनसक्छ । 

-गुगलले अफलाइन म्याप डाउनलोड गर्न सकिने फिचर दिएको छ । यात्रामा जानुअघि सो क्षेत्रको अफलाइन म्याप डाउनलोड गर्दा पनि राम्रै हुन्छ ।

-मोबाइलमा डेटा र ब्यालेन्स ब्याकअप राख्न पनि तपाईंले बिर्सनु हुन्न । कतिबेला के हुन्छ, थाहै हुन्न ।

-फोनलाई ब्याट्री सेभर तथा फ्लाइट मोडमा राखेर पनि प्रयोग गर्न सक्नुहुन्छ । 

-यात्रा अघि घरमा लोकेसन शेयर गर्दा पनि हुन्छ । तर यसका लागि मोबाइलमा इन्टरनेट र ब्याट्री ब्याकअप राम्रो हुनु आवश्यक भने छ ।

-नेपालका कतिपय स्थानहरूमा क्यामेरा र ड्रोन प्रयोग गर्न पाइँदैन । कतिपय संरक्षित स्थानहरूमा स्पिकरहरू पनि प्रयोग गर्न पाइदैँन । यसकारण आफू जाने ठाउँको थोरै अध्ययन गर्नु राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८१ १९:४०