close

प्रिमियम सेवा लिँदा पनि विज्ञापन हेर्न बाध्य छन् युट्युब प्रयोगकर्ता

टेकपाना टेकपाना

कात्तिक ६, २०८१ १३:४२

प्रिमियम सेवा लिँदा पनि विज्ञापन हेर्न बाध्य छन् युट्युब प्रयोगकर्ता

काठमाडौं । युट्युबमा प्रयोगकर्ताले विज्ञापन हेर्नु नपरोस् भनेरै शुल्क तिरेर प्रिमियम सेवा लिएका हुन्छन् । तर, त्यसरी शुल्क तिरेर प्रिमियम सेवा लिंदा पनि केही प्रयोगकर्ताले अत्यधिक विज्ञापन हेर्नु परेको भन्दै गुनासो गरेका छन् । 

रेडिटमा पोस्ट गर्दै एक युट्युब प्रिमियम प्रयोगकर्ताले विज्ञापन देखिएको स्क्रिनशट शेयर गरेका छन् । यो एउटा प्रयोगकर्ताले मात्र राखेको गुनासो होइन् ।  रेडिटको युट्युब कम्युनिटीमा सयौं प्रयोगकर्ताले शुल्क तिर्दातिर्दै पनि विज्ञापन हेर्न वाध्य भएको उल्लेख गरेका छन् । 

“युट्युब प्रिमियमका ग्राहकको होम फिडमा विज्ञापन देखिनु हुँदैन,” गुगलका प्रवक्ताले इन्ड्रोइड अथोरिटीलाई भनेका छन्, “यस्तो किन भएको छ, हामी अनुसन्धान गरिरहेका छौं । यस्तो समस्या सामना गर्ने प्रयोगकर्ताले कन्ट्याक्ट सपोर्टमा सम्पर्क गरेर आफ्नो समस्या राख्न सक्छन् ।”

युट्युब सपोर्ट पेजका अनुसार प्रिमियम सेवा भनेकै कतै पनि विज्ञापन नदेखिने सेवा हो । त्यस्तै प्रयोगकर्ताले थर्ड पार्टी विज्ञापनका ब्यानर पनि देख्नु हुँदैन । यद्यपि कन्टेन्ट क्रियटरले नै कुनै ब्रान्डको प्रवर्द्धन गरिरहेको छ भने त्यस्तो अवस्थामा भने लिङ्क वा ब्यानर देखिन सक्छ । तर, प्रयोगकर्ताले सार्वजनिक गरेको स्क्रिनशट हेर्दा त्यो फिडमै युट्युबको तर्फबाट विज्ञापन आएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८१ १३:४२