close

टिकटकर जोडीको डिभोर्स हुँदा पैसा आउने अकाउन्ट कसले चलाउने भन्ने विवाद भएपछि...

टेकपाना टेकपाना

कात्तिक १०, २०८१ १४:३१

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । वैवाहिक सम्बन्धविच्छेदमा सम्पत्ति बाँडफाँट हुनु सामान्य कुरा हो । तर जब डिजिटल सम्पत्तिमा कुरा अड्किन्छ, तब रमाइलो मोड आउन सक्छ । अमेरिकामा यस्तै घटना भएको छ । एक चर्चित कन्टेन्ट क्रियटर जोडी क्याट र माइक स्टिकलरको विवाह टुटेपछि टिकटक अकाउन्टको स्वामित्व विवादको बिषय बन्यो ।

क्याट र माइकले लाखौं फलोरसहितको टिकटक र युट्युब अकाउन्ट संयुक्त रूपमा चलाउँथे, जसबाट राम्रै आम्दानी आउँथ्यो । सम्बन्धविच्छेदपछि टिकटक अकाउन्ट कसले राख्ने भन्ने विषयमा विवाद झन् चर्कियो ।

टिकटक मात्र नभएर युट्यब च्यानल समेत उनीहरूले संयुक्त रुपमा चलाउँथे । ती अकाउन्टमा लाखौं फलोअर थिए । आम्दानी राम्रै थियो । यही कारण सामाजिक सञ्जालको अकाउन्ट कसको हुने भन्ने विवाद थपिएको थियो ।

यस घटनामा क्याट स्टिकलरले टिकटक आफ्नो हातमा पारिन् । तर यो निर्णय सजिलो थिएन । उनीहरूका वकिललाई गाह्रो पर्नुका साथै न्यायाधीश समेत अलमलमा परेका थिए । यो कुरा उनले एक महिनाअघिको एक पडकास्ट अन्तर्वार्तामा सुनाएकी छिन् । त्यहाँ उनले न्यायाधीशलाई यदि टिकटक अकाउन्ट आफूलाई दिए फलोअरको संख्या बढ्दै जाने र श्रीमानलाई दिए बन्द हुने बताएकी छिन् ।

उनको उक्त कुरा अहिले सत्य साबित पनि भएको छ । संयुक्त टिकटक अकाउन्ट आफ्नो हात परेपछि उनले नाम परिवर्तन गरेर KatStickler राखेकी छिन् । जसमा हाल एक करोड चार लाख फलोअर रहेका छन् । यसका साथै कुल गरेर ३० लाख बढी फलोअर हुने फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानल समेत रहेको छ । 

श्रीमानको भागमा युट्युब अकाउन्ट पर्यो । तर उनले चलाउन छाडिदिए । हाल उनी कन्टेन्ट क्रियटरको ‍करियर छाडेर सेल्सतिर गएको वाल स्ट्रिट जर्नलले लेखेको छ । 

त्यस्तै यही सञ्चार गृहका अनुसार अहिले यस्तो घटना बढिरहेको छ । सम्बन्ध राम्रै हुँदा सामाजिक सञ्जालका अकाउन्टहरू मिलिमिलि चलाउँछन् । तर विच्छेदपछि कसको हुने भन्नेमा लडाइँ गर्छन् । यस्तो घटना हास्यास्पद लाग्न सक्छ । तर सामाजिक सञ्जालबाट राम्रो कमाइ हुने गर्नाले अहिले यस्तो घटना बढिरहेको विश्लेषण गरिएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८१ १४:४५