काठमाडौं । युरोपेली संघले (ईयू) चीनमा उत्पादित विद्युतीय गाडीहरूको आयातमा कर बढाउने भएको छ । विभिन्न रिपोर्टका अनुसार युरोपेली संघले चिनियाँ ईभीमा ३५.३ प्रतिशतसम्म कर बढाउन लागेको हो ।
ईयू एन्टीसब्सिडी अनुसन्धान प्रक्रियाको भागको रूपमा चिनियाँमा उत्पादित गाडीहरूमा कर बढाउन लागिएको रिपोर्टमा उल्लेख छ । चिनियाँ ईभी निर्माता कम्पनीहरूले चिनियाँ सरकारबाट अनुचित सहुलियत प्राप्त गरेको शंकाको आधारमा ईयूले यस्तो अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
चिनियाँ कम्पनीहरूले अनुचित सहुलियत प्राप्त गर्दै ईभी उत्पादन गरेको भए यसले अन्य निर्माताहरूलाई असर गरी स्वस्थ बजार प्रतिस्पर्धा नहुने विश्लेषण गरिएको छ ।
ईयूले चिनियाँ विद्युतीय गाडीमा कर बढाउने निर्णय गरेसँगै चीन र ईयूबीच करको विकल्प पहिचानबारे छिट्टै प्राविधिक वार्ता हुने सहमति समेत भएको रोयटर्सले जनाएको छ ।
युरोपेली संघका व्यापार प्रमुख भाल्डिस डोमब्रोभ्स्किस र चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्टाओबीच भएको टेलिफोन संवादपछि यस सन्दर्भमा छिट्टै प्राविधिक वार्ता आयोजना हुने निर्णय भएको रिपोर्टमा उल्लेख छ ।
ईयूले चीनसँग यसअघि पनि विभिन्न आठ चरणको वार्ता गरिसकेको छ । चिनियाँ ईभी उत्पादक कम्पनीहरूको ईयूमा लगभग २० प्रतिशत बजारहिस्सा रहेको बताइन्छ । ईयूको यस निर्णयले चिनियाँ उत्पादकहरूलाई उल्लेखनीय असर पर्ने अनुमान छ ।