काठमाडौं । डिप ब्लु एरोस्पेस नामक चिनियाँ स्पेस टेक्नोलोजी कम्पनीले अन्तरिक्ष यात्राका लागि टिकेट बिक्रीमा राखेको छ । आफ्नो पहिलो अन्तरिक्ष यात्राका लागि कम्पनीले प्रति टिकेटको मूल्य २० लाख युआन (करिब ३ करोड ७७ लाख रुपैयाँ) पर्ने २० ओटा टिकेट बिक्रीमा राखेको हो ।
हालै मात्र प्रत्यक्ष प्रसारण गरेर कम्पनीले दुई ओटा टिकेट भने ५० प्रतिशत छुटमा बिक्री गरिसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । बाँकी रहेका टिकेट इच्छुक व्यक्तिहरूले टाओबाओ (Taobao) स्टोर नामक साइटबाट खरिद गर्न सक्ने छन् ।
टिकेटका लागि खरिदकर्ताले सुरुमा एक लाख युआन अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछि बेइजिङस्थित अनुसन्धान केन्द्रमा उपस्थित भएर सम्झौता गर्नुका साथै बाँकी रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।
कम्पनीका अनुसार टिकेट लिनेहरूले सन् २०२७ मा अन्तरिक्ष यात्रा गर्ने छन् । जुन कुल १२ मिनेटको हुनेछ । त्यस क्रममा यात्रुहरूलाई १५० किलोमिटरको उचाइसम्म पुर्याएर कम्तीमा पाँच मिनेटको लागि शून्य गुरुत्वाकर्षणको अनुभव गराइने बताइएको छ ।
यस यात्राका लागि कम्पनीले नेबुला-१ नामक रकेट प्रयोग गर्नेछ । उक्त रकेटले एक पटकमा ६ जना यात्रुलाई लिएर उडान भर्ने र पुनः प्रयोग गर्न मिल्ने प्यारासुटमार्फत पृथ्वीमा फर्काउने छ ।
अहिले टिकेट खुलाएर तीन वर्षसम्म पर्खाउनुको कारण भने रकेट प्रविधिमा थप अनुसन्धान, परीक्षण र प्रदर्शन सुधारमा लाग्ने समय भएको बताइएको छ । पछिल्लो समयमा विकसित देशहरूमा अन्तरिक्ष पर्यटन फस्टाउँदै गइरहेको छ ।
एलन मस्क, जेफ बेजोस्, रिचर्ड ब्रानसन यस क्षेत्रमा प्रवेश गरिसकेका खेलाडीहरू हुन् । डिप ब्लु एरोस्पेस भने सन् २०१६ मा मात्र स्थापना भएको कम्पनी हो । त्यस्तै यस क्षेत्रमा पाइला चाल्ने यो पहिलो चिनियाँ कम्पनी पनि हो ।