काठमाडौं । अमेरिकास्थित क्यान्सस राज्यको विचिटा सहर नजिकैको एयर क्यापिटल ड्रप जोनमा ३७ वर्षीया व्यावसायिक फोटोग्राफर अमान्डा ग्यालेहरको दुर्घटनामा मृत्यु भएको छ । शनिबार ग्यालेहर विमान चढ्ने र उत्रने व्यक्तिहरूको फोटो खिचिरहेकी थिइन् । तर, दुर्भाग्यवश पछाडि सर्दै गर्दा उनी जहाजको प्रोपेलरको नजिक परिन् र भुईँमा लत्रिइन् ।
सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिमा लेफ्टिनेन्ट एरिक स्लेले त्यस समयमा प्लेनको इन्जिन चलिरहेको उल्लेख गरेकी छिन् । तर, प्लेन चलिसकेको थिएन । त्यहीबेला पछि सरेर फोटो खिच्दै गर्दा उनी प्रोपेलर नजिकै पुगिन् र त्यसैको हावाको बहावले भुईँमा बजारिन पुगिन् । उनलाई गम्भीर चोट लागेको थियो ।
स्थानीय सञ्चारमाध्यम केएसएनडब्लूका अनुसार उनलाई तत्काल स्थानीय अस्पताल लगियो । तर, अस्पतालले उनको ज्यान गइसकेको घोषणा गरेको थियो ।
“अज्ञात कारणवश उनी विमानको पखेटाको अगाडि पुगेकी थिइन्, जुन सुरक्षा मापदण्डको उल्लङ्घन थियो । उनी क्यामेरा लिएर फोटो खिच्नु अगाडि बढ्दै गर्दा केही पछाडि सर्दै सक्रिय प्रोपेलरमा ठोक्किएकी थिइन्,” एयर क्यापिटल ड्रप जोन नामक स्काइडाइभिङ कम्पनीले भनेको छ ।
फेडरल एभिएसन एडमिनिस्ट्रेसन (FAA) ले पनि यो घटनाको छानबिन गर्ने जानकारी दिएको छ । यस घटनामा राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले पनि अनुसन्धान गर्ने बताइएको छ ।
अमान्डाको अन्तिम संस्कारका लागि उनका साथीभाइ तथा आफन्तले छ हजार डलर दान आवश्यक भएको भन्दै गो फन्डमी पेज तयार पारेका थिए । हालसम्म त्यसबाट त्यसको तीन गुणा बढी अर्थात् १९ हजार डलर सङ्कलन भइसकेको छ ।