काठमाडौं । बलिउड अभिनेता सलमान खानको ज्यान लिने धम्की आएको छ । एक अज्ञात व्यक्तिले मुम्बई प्रहरीलाई मेसेज पठाउँदै सलमानलाई मार्ने धम्की दिएका हुन् । उक्त मेसेजमा दुई करोड भारू फिरौती नदिए सलमानको ज्यान लिने चेतावनी दिइएको छ ।
भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार धम्कीपूर्ण सन्देश प्राप्त हुनासाथ प्रहरीले अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ ।
यसअघि पनि मुम्बई ट्राफिक प्रहरीको ह्वाट्सएप नम्बरमा यस्तै प्रकृतिको धम्कीपूर्ण मेसेज पठाउँदै पाँच करोड भारू फिरौती मागिएको थियो । जसमा संलग्न एक व्यक्ति जमशेदपुरबाट पक्राउ परेका थिए । त्यसयता सलमानको सुरक्षालाई थप कडा पारिएको छ ।
सोमबार मुम्बई प्रहरीले सलमान खान र एनसीपी नेता जीशान सिद्दीकीलाई धम्की दिने एक व्यक्तिलाई उत्तर प्रदेशको नोयडाबाट पक्राउ गरेको थियो ।
यसअघि सलमान खानलाई लरेन्स बिश्नोई समूहले पनि धम्की दिएको थियो । यही वर्ष अप्रिलमा उक्त समूहका शंकास्पद सदस्यहरूले सलमानको बान्द्रास्थित घरबाहिर गोली चलाएका थिए ।