close

नेपाल-बङ्गलादेश फुटबल खेलले युट्युबमा राख्यो नयाँ रेकर्ड

टेकपाना टेकपाना

कात्तिक १५, २०८१ १२:५६

नेपाल-बङ्गलादेश फुटबल खेलले युट्युबमा राख्यो नयाँ रेकर्ड

 

काठमाडौं । बुधबार सम्पन्न साफ महिला च्याम्पियनशिप २०२४ को फाइनल खेल नेपाली खेलकुद इतिहासमै युट्युबमा सबैभन्दा धेरैले हेरेको खेल बनेको छ । यसअघि यही प्रतियोगिताको सेमिफाइलनमा नेपाल र भारतबीचको खेलले बनाएको रेकर्डलाई फाइनल खेलले १० लाख बढी लाइभ अडियन्स पाएर तोडेको हो ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल युट्युबमा एकसाथ पाँच लाख २६ हजार बढीले हेरेका थिए । यो त्यसअघिका कुनै पनि भिडिओमा आएको लाइभ अडियन्सको तुलनामा सबैभन्दा बढी थियो । उक्त खेल विभिन्न कारणले विवादित हुन पुगेको थियो । विवादकै कारण‍ ९० मिनेटको खेल लम्बिएर १७५ मिनेटसम्म पुगेको थियो ।

त्यही विवादका कारण पनि उक्त खेल लाइभ हेर्ने दर्शक थपिएका थिए । अन्तिममा पेनाल्टी शुटआउटमा पुगेको सो खेलमा नेपालले भारतलाई ४-२ गोल अन्तरले हराई फाइनलमा  स्थान सुरक्षित गर्‍यो । खेल सकिएपछि कान्तिपुर मिडिया ग्रुपले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त भिडिओ लाइभ हेर्ने अडियन्टको सङ्ख्या सार्वजनिक गरेको थियो ।

फाइनल खेल पनि सुरुवातदेखि नै विविध कारणले चर्चामा आयो । खासगरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइनमार्फत टिकट बिक्री नगर्ने निर्णय गरेपछि यो निर्णय गरेपछि यसको चौतर्फी आलोचना भयो । टिकट लिनका लागि दर्शक घण्टौं लाइन लाग्न बाध्य भए । लाइन लागेकै अधिकांश दर्शक पनि टिकट नपाएर रित्तै फर्किए । 

त्यसैले पनि यस खेलले बढी चर्चा पाएको थियो । बुधबार बेलुका साढे ६ बजे सुरु भएको सो खेल पहिलो १५ मिनेटमै पाँच लाख ५५ हजार बढीले लाइभ हेरेका थिए । म्याच लाइभ हेर्ने अडियन्सको सङ्ख्या हाफ टाइमसम्म छ लाख, सात लाखहुँदै आठ लाखसम्म पुगेको थियो ।

हाफ टाइमपछि बङ्गलादेशले नेपालको पोस्टमा गोल गर्‍यो । लगत्तै नेपालले गोल फिर्ता गर्‍यो । तर खेल उत्तरार्धमा बङ्गलादेशले गरेको गोलसँगै नेपाल फेरि उपाधि चुम्नबाट वञ्चित भयो । खेलको अन्त्यसम्म लाइभ हेर्ने अडियन्सको सङ्ख्या १० लाख ६० हजार बढी पुगेको थियो । यो अहिलेसम्म युट्युबमा नेपालबाट प्रसारित सबैभन्दा बढी लाइभ अडियन्स पाउने भिडिओ बनेको छ । यद्यपि कान्तिपुर मिडिया ग्रुपले यो तथ्याङ्क औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी नै छ ।

युट्युबमा कान्तिपुर म्याक्सबाट प्रसारित यो भिडिओ अन्य प्लेटफर्ममा पाइरेट गरी लाइभ गरिएको थियो । खासगरी विभिन्न केही फेसबुक पेजले यस भिडिओलाई प्रसारण गरेका थिए । ती पेजमा आएको भिडिओ पनि हजारौंले लाइभ हेरेका थिए । त्यसबाहेक देशका विभिन्न सहरमा खेलको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाइएको थियो । 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८१ १२:५६