close

तपाईंको फेसबुक प्रोफाइल कसले हेर्‍यो भन्दै झुक्काएर अकाउन्ट ह्याक गर्ने दाउ

टेकपाना टेकपाना

कात्तिक १६, २०८१ १२:५९

तपाईंको फेसबुक प्रोफाइल कसले हेर्‍यो भन्दै झुक्काएर अकाउन्ट ह्याक गर्ने दाउ

काठमाडौं । तपाईंलाई थाहै नदिई सुटुक्क कसले तपाईंको सामाजिक सञ्जालका अकाउन्टको प्रोफाइल हेर्छ होला ? सुटुक्क प्रोफाइल हेर्नुका कारण जे भए पनि कसले हेर्‍यो भन्ने थाहा पाउने चाहना प्रायः सबैको हुन्छ ।

यदि तपाईं टिकटक प्रयोग गर्नुहुन्छ भने त्यसमा त पक्कै पनि प्रोफाइल कसले हेरे भन्ने अप्सन देखाइरहेको हुन्छ । तपाईंले जानी नजानी कुनै व्यक्तिको टिकटक आईडी खोल्नुभयो भने उक्त व्यक्तिको नोटिफिकेसनमा तपाईंले प्रोफाइल नियालेको जानकारी पुगिसक्छ । यसलाई हटाउन सकिने सुविधा पनि छ ।

तर, के फेसबुकमा यही सुविधा छ त ? सोझै भन्ने हो भने फेसबुकले यस्तो सुविधा दिएको छैन । फेसबुकमा कोड इन्स्पिक्ट गरेर कसले हेरेको थाहा पाउन सकिन्छ भनिन्छ, तर यो आधिकारिक रूपमा प्रमाणित भइसकेको छैन । तपाईं हामी सामान्य व्यक्तिले बुझ्नुपर्ने कुरा के हो भने फेसबुकमा कुनै एप इन्स्टल गरेर वा लिङ्क क्लिक गरेर आफ्नो प्रोफाइल क-कसले भिजिट गरे भनेर थाहा पाउन सकिँदैन । 

पछिल्लो समय सामाजिक सञ्जालमा प्रोफाइल भिजिटर हेर्न सकिने दाबी गरिएका लिङ्क फैलिएको देखिन्छ । फोटोमा सबैभन्दा माथि ‘प्रोफाइल भ्युअर्स’ लेखिएको हुन्छ । त्यसपछि अङ्ग्रेजीमा ‘तपाईंको प्रोफाइल सात दिनमा कसले हेर्‍यो’ लेखिएको हुन्छ ।

त्यसभन्दा तल उक्त व्यक्तिको अकाउन्टको प्रोफाइल पिक्चर हुन्छ । र, त्योभन्दा तल अकाउन्ट हेर्ने व्यक्ति भन्दै नाम राखिएको हुन्छ । ती नाम पनि चिरपरिचित हुँदैनन् । भारतीय व्यक्तिको जस्तो नाम राखिएको हुन्छ । अपरिचित व्यक्तिले प्रोफाइल हेरेको रहेछ भन्ने थाहा पाए उक्त प्रयोगकर्ता ती व्यक्ति को रहेछन् भन्ने जान्न उत्सुक हुन्छन् । र, लिङ्कको वास्ता नगरी क्लिक गर्छन् । यही मानसिकतालाई आधार मानी यो अकाउन्ट ह्याक गर्ने शैली मौलाएको छ ।

यसरी प्रोफाइल भिजिट कसले गरेको छ भन्ने विषय थाहा पाउन लिङ्क क्लिक गर्नुहोस् भन्दै क्याप्सन र कमेन्टमा लिङ्क राखिएको हुन्छ ।

के हो लिङ्कको वास्तविकता ?

प्रोफाइल भिजिटर देखाइदिने दाबी गरिएको पोस्टको क्याप्सन र कमेन्टमा सो लिङ्क राखिएको हुन्छ । लिङ्क छोटो बनाइएको हुन्छ । अर्थात् जुन वेबसाइटको लिङ्क हो, त्यो नदेखाएर लिङ्क छोटो बनाउने वेबसाइटको लिङ्क राखिएको हुन्छ ।

यस्तो हुँदा झट्ट यो लिङ्क केसँग सम्बन्धित छ भन्ने थाहा हुँदैन । उक्त लिङ्कमा क्लिक गरेर व्यक्तिले आफ्नो फेसबुकको विवरण राख्नुपर्ने हुन्छ । त्यसपछि अकाउन्ट ह्याक हुन्छ । र, सोही अकाउन्टबाट त्यसरी नै प्रोफाइल भिजिटर पत्ता लगाइदिने एप भन्दै सोही लिङ्क र पोस्ट शेयर हुन्छ । 

यसमा व्यक्तिको आफ्नो अकाउन्ट ह्याक हुने जोखिम त हुन्छ नै, साथै त्यस व्यक्तिसँग जोडिएका अन्य व्यक्तिको अकाउन्ट पनि ह्याक हुन्छ । प्रोफाइल कसले हेर्‍यो होला भन्ने कौतुहलताको पछि पर्दा वर्षौंदेखि तपाईंले चलाइरहेको अकाउन्ट गुम्न सक्छ ।

अकाउन्ट कब्जामा लिएर ईमेल र फोन नम्बर परिवर्तन गरिदिए तपाईंको केही पनि लाग्दैन । तत्कालै रिकभर गर्ने आइडिया सबैसँग नहुन सक्छ । त्यसैले फेसबुकमा यस्ता कौतुहलता उब्जाउने किसिमका पोस्ट राखिएका छन् र त्यसका लागि लिङ्क क्लिक गर्नुपर्ने छ भने तपाईं सचेत हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८१ १३:१२