काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच नेपालपे कार्ड जारी तथा अक्वायर गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान तथा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरे ।
नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रूपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र नेसनल पेमेन्ट सिस्टम कार्यान्वयनको लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ ।
नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नको लागी एससीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपश्चात एनपीएस-एनसीएस एसएफको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र अक्वायर गर्न सक्नेछ ।
सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ, स्विचिङ तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमार्फत हुनेछ ।
एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंक वित्तीय संस्थालाई अन्य कार्ड स्किमको प्रोसेसिङ र कार्ड सर्भिसिङकाे सुविधा प्रदान गर्दै आएको छ भने एससीटीले बैंक वित्तीय संस्थाहरूलाई कार्ड प्रोसेसिङको सेवा दिँदै आएको छ ।
नेपालको आफ्नै भुक्तानी कार्ड स्किम 'नेपालपे' को कार्यान्वयन पश्चात् बैंकका ग्राहकले डोमेस्टिक स्किम मार्फत नै सहज रूपमा कार्ड प्राप्त गर्न तथा कारोबार गर्न सक्नेछन् । साथै नेपालपे लगायतका कार्ड सम्बन्धी कारोबारहरु एनपीएस अन्तर्गत नेसनल कार्ड स्वीच मार्प्त हुने हुँदा नेपालपेको विस्तारमा यस समझदारीले विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।