close

'डिजिटल अरेस्ट'को नाममा आफ्नै घरमा २२ दिनसम्म कैद, ठगहरूले यसरी लुटे ८२ लाख रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक १८, २०८१ १३:११

'डिजिटल अरेस्ट'को नाममा आफ्नै घरमा २२ दिनसम्म कैद, ठगहरूले यसरी लुटे ८२ लाख रुपैयाँ

काठमाडौं । “उनीहरू २२ दिनसम्म हरेक समय मसँग भिडिओ कलमा थिए । यहाँसम्म कि बाथरुम जानुअघि पनि मेसेज गरेर सोध्नुपर्थ्यो ।" यो कहानी चन्डीगढका हरिनाथको हो, जसलाई हालै मात्र अनलाइन ठगहरूले डिजिटल अरेस्ट गरेका थिए ।

हरिनाथ भन्छन्, "म एक दुई दिनको अन्तरमा बैंक जाने गर्थेँ र उनीहरूलाई लाखौँ रुपैयाँ पठाउथेँ । अहिलेसम्म उनीहरूले मबाट ५१ लाख दुई हजार (भारु) ठगिसकेका छन् ।" उनले गएको २ अक्टोबरदेखि २४ अक्टोबरसम्म पैसा पठाइरहे । 

भारतमा डिजिटल अरेस्टको मामला यति गम्भीर बनिसकेको छ कि २७ अक्टोबरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले 'मन की बात' कार्यक्रममा समेत यसबारे चर्चा गरे । मोदीले यसलाई लिएर सावधानी अपनाउन आमसर्वसाधारणलाई अनुरोध गरेका थिए ।

उनले भनेका थिए, "डिजिटल अरेस्टबाट पीडितहरू हरेक वर्ग र उमेरका मानिस छन् । डरका कारण उनीहरू आफ्नो मेहनतले कमाएको लाखौँ रुपैयाँ गुमाइरहेका छन् ।"

हरिनाथ भोपालका निवासी हुन्, तर पछिल्लो सात वर्षदेखि चन्डीगढमा बस्दै आएका छन् ।

कसरी भए डिजिटल अरेस्ट ?

यो घटनाबारे हरिनाथले बीबीसीसँग भनेका छन्, "म एक अखबारमा फोटो एडिटरको रूपमा काम गर्थेँ । २०१७ मा म त्यही कामको लागि चन्डीगढ आएको थिएँ ।"

कोरोनाको दौरान हरिनाथको जागिर गुम्यो । उनीकी श्रीमती एक निजी स्कुलमा शिक्षिका छिन् । स्कुलबाहेक उनी घरमा बच्चाहरूलाई पढाउँछिन् । जागिर छोडेपछि उनले आफ्नी श्रीमतीको साथ बच्चाहरूलाई घरमा पढाउने काम सुरु गरे ।

"२ अक्टोबरको राति १२ बजे मलाई एक युवतीको फोन आयो । उनले आफू एक टेलिकम कम्पनीबाट बोलिरहेको र दुई घण्टामा मेरो फोन बन्द हुने बताइन् ," हरिनाथ घटनाको सुरुको दिन सम्झन्छन् । 

"ती युवतीले भनिन् कि ३० अगस्टमा तपाईंको आधार कार्डबाट मुम्बईमा मोबाइल सिम निकालिएको थियो र उक्त सिम कार्ड विरुद्ध धोखाधडीका सात मुद्दा र एक एफआईआर दायर भएको छ ।"

"मैले उसलाई भने कि- म मुम्बईमा कसैलाई चिन्दिनँ, म त चन्डीगढमा बस्छु । त्यसपछि उनले एक पुलिस ( नक्कली) सँग मेरो कुराकानी गराइन् ।"

हरिनाथका अनुसार उक्त पुलिसले उनलाई धम्की दिँदै भन्यो, "ओहो, तिमीले के गरेको ? निकै ठूलो ठगी गरिरहेका छौं । नरेश गोयल नामको व्यक्तिमाथि निकै ठूलो फ्रड भएको छ । तिम्रो नामबाट बैंक खाता खोलिएको छ । यो खाताबाट ६ करोड ८० लाखको कारोबार भएको छ । यसको रकमको १० प्रतिशत हिस्सा तिम्रो नाममा आएको छ । तिमी विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरिएको छ । प्रहरी दुई घण्टाभित्र तिमीलाई गिरफ्तार गर्न आउँदैछ ।"

हरिनाथ भन्छन्, "म डराइसकेको थिएँ । मैले केही पनि चेकजाँच गर्ने कोसिस नै गरिनँ । त्यसपछि उक्त नक्कली प्रहरीले मलाई भन्यो कि- यो मामिला निकै गम्भीर छ । यस मामिलाको जाँच आरबीआई, सीबीआई र सर्वोच्च अदालतले गरिरहेको छ । म सीबीआई अधिकारीसँग तपाईंको कुरा गराइरहेको छु ।"

त्यसपछि नक्कली सीबीआई अधिकारीसँग उनको कुराकानी गराइयो । हरिनाथ भन्छन्, "उनीहरूले मसँग चाँडोभन्दा चाँडो मुम्बई आउन भने । मैले उनीसँग भने कि- म यति चाँडै मुम्बई कसरी आउन सक्छु ? ममाथि मेरी श्रीमती र मेरा बालबच्चाहरूको जिम्मेवारी छ ।"

"त्यसपछि उनीहरूले मसँग भने कि- ठिक छ, यदि तिमी मुम्बई आउन सक्दैनौ भने हामीसँग एउटा अर्को तरिका छ । तिमीले घरमै बसेर अनुसन्धानमा सघाउनु पर्छ । ​तपाईं मोबाइलको माध्यमबाट हरेक समय सम्पर्कमा रहनु पर्छ । हामी भोलि १० बजे तपाईंसँग कुरा गर्नेछौं । तपाईंले आफ्नो सम्पूर्ण सम्पत्तिको जानकारी हामीलाई दिनु पर्नेछ । आरबीआईले तपाईंका खाता, जम्मा पूँजीको अनुसन्धान गर्नेछ । यदि तपाईं निर्दोष देखिनु भयो भने तपाईंलाई छोडिनेछ ।"

हरिनाथले अर्को दिन ३ अक्टोबरको बिहान १० बजे भिडिओ कलको माध्यमबाट ठगहरूसँग कुरा गरे । त्यस क्रममा साइबर ठगहरूले हरिनाथसँग कति पैसा र सम्पत्ति छ भनेर सोधे ।

हरिनाथले भने, "मैले सबै कुरा जस्ताको तस्तै बताइदिएँ कि- मसँग फिक्स्ड डिपोजिट ९ लाख भारु छ ।"

"उनीहरूले मलाई तुरुन्त बैंक गएर पैसा पठाउन भने । ३ अक्टोबरको बेलुका मैले अनलाइनबाट आफ्नो एफडी तोडिदिएँ । अर्को दिन ४ तारिखमा फेरि हाम्रो मिटिङ भयो ।"

"मिटिङमा उनीहरूले मलाई निर्देशन दिए । बैंक जाँदा पनि फोनमा भिडिओ कलमा रहनु भने । यो पैसा किन र कसलाई पठाइरहेका छु भन्ने कुरा कसैलाई नभन्नु भने । बैंकमा पनि कसैसँग कुराकानी नगर्नु भने ।"

हरिनाथ भन्छन्, "यो मबाट निकै ठूलो गल्ती भयो कि उनीहरू को हुन् र आरबीआई, सीबीआई, ह्वाट्सएपको माध्यमबाट मसँग किन सम्पर्क गर्लान् भन्ने कुराको मैले चेक जाँच गर्ने कोसिस नै गरिनँ । म डराइसकेको थिएँ । उनीहरू जसो जसो गर्न भन्थे, मैले त्यसै गरेँ ।"

दिउँसो बच्चाहरूलाई पढाउनेदेखि सब्जी बनाउने र मन्दिरमा दियो बाल्नेसम्मका हरेक काम गर्नुअघि हरिनाथ उनीहरूको अनुमति लिन्थे ।

'परिवारसँग कुराकानी नगर्नू'

हरिनाथ भन्छन्, "पहिले त मलाई लाग्यो कि- यो साँच्चिकै आरबीआई वा सीबीआई हो । मलाई उनीहरूमाथि कुनै शङ्का नै भएन ।"

"भिडिओ कलबाट उनीहरूले ममाथि हरेक समय निगरानी राखिरहेका हुन्थे । मलाई के गरौं भन्ने कुनै दिमाग आइरहेको थिएन । उनीहरूले मलाई कसैलाई पनि केही बताउन मनाही गरेका थिए ।"

"मेरी श्रीमतीले बारम्बार सोधे पनि मैले उनलाई म कुन जालमा फसेको छु भन्ने कुरा केही भनिनँ ।"

ठगहरूलाई पैसा पठाउने क्रम चलिरह्यो

हरिनाथको भनाइ छ, "उनीहरूले मलाई बैंकको माध्यमबाट पैसा पठाउन भनेका थिए । मैले पहिलो पटक ४ अक्टोबरमा आरटीजीएसको माध्यमबाट ९ लाख ८० हजार भारु पठाएँ । ​दोस्रो पटक ५ अक्टोबरमा २० लाख भारु पठाएँ । त्यसपछि ७ अक्टोबरमा पहिला ९ लाख ८० हजार भारु पठाएँ र पछि ५० हजार भारु पठाएँ । यसरी ९ अक्टोबरमा फेरि ५ लाख भारु मैले पठाइदिएँ ।"

पैसा पठाउने यो सिलसिला जारी रह्यो । त्यसपछि साइबर ठगहरूले हरिनाथसँग यदि उनले आफू विरुद्ध दायर एफआईआर रद्द गराउन चाहन्छन् भने दुई लाख भारु थप दिनुपर्ने बताए । हरिनाथ भन्छन्, "मैले १६ अक्टोबरमा ८८ हजार भारु उनीहरूलाई दिएँ ।"

"त्यसपछि उनीहरूले भने कि- आरबीआईले जाँच गरेको हो । उक्त जाँचको शुल्क १.५ लाख भारु पर्छ । त्यसपछि मलाई लाग्यो, यदि मलाई आफ्नो पैसा फिर्ता लिनु छ भने त मैले शुल्क तिर्नैपर्ने हुन्छ । त्यसैले २२ अक्टोबरमा मैले उनीहरूको खातामा एक लाख ५० हजार भारु थप राखिदिएँ ।"

त्यसपछि बल्ल हरिनाथलाई आफूमाथि धोखा भइरहेको महसुस भयो । उनी भन्छन्, "मैले जेनतेन आफ्नो परिवारसँग कुरा गरेँ । उनीहरूको सल्लाह अनुसार त्यसपछि पुलिस चौकी गएँ । सेक्टर १७ को साइबर पुलिस स्टेसनमा गएर उजुरी दिएँ ।"

चौकीमा उजुरी दिएपछि प्रहरीले  उनलाई चाँडोभन्दा चाँडो आफ्नो फोन बन्द गर्ने सल्लाह दिए । चन्डीगढका साइबर प्रहरी अधिकारी केतन बंशलका अनुसार यो मामिलामा एफआईआर  दायर भइसकेको छ र थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८१ १४:३३