काठमाडौं । अहिलेको समयमा फोटोग्राफर बन्नका लागि महँगो क्यामेरा नै हुनपर्छ भन्ने हुँदैन । सीप जानेको व्यक्तिले सामान्य फोनबाटै स्तरीय फोटो खिच्न सक्छन् । सबैको हात हातमा फोटो खिच्न सकिने गज्जबका फोन छन् । नेपालमा यसरी हात हातमा फोन पुगेको एक दशक बढी भयो ।
तर, नेपालको इतिहासमा फोटोग्राफीको सुरुवात कसले र कसरी गरेका होलान् ? आज हामी त्यसैबारे चर्चा गर्दैछौं:
नेपालमा फोटोग्राफीको विकास
नेपालको फोटोग्राफी इतिहासमा फोटो खिच्ने क्यामेराको प्रवेश गराउने राणा प्रधानमन्त्री जङ्गबहादुर राणा हुन् भनेर उल्लेख गरिएको पाइन्छ । सन् १८५० मा उनी युरोप भ्रमणमा गएको बेला फोटो खिच्ने क्यामेरा नेपालमा ल्याएको कुरा उल्लिखित छ ।
तर, उक्त क्यामेराबाट खिचिएको फोटो कुन हो भन्ने स्पष्ट छैन । किनभने त्यस क्यामेराबाट खिचिएको भनिएको फोटो प्रकाशमा आएको छैन । नेपालमा फोटो खिचेर प्रकाशनमा ल्याउने पहिलो व्यक्ति बेलायतका नागरिक क्लेरेन्स कोमिन टेलर थिए ।
उनी सन् १८६३ मा नेपाल भ्रमणमा आउँदा कान्तिपुर (हालको काठमाडौं), भक्तपुर र ललितपुरका दरबार परिसर, त्यहाँको जनजातिका फोटोलगायत जङ्गबहादुर राणाका परिवारको फोटो खिचेका थिए ।
नेपालको सन्दर्भमा पहिलो नेपाली फोटोग्राफरका रूपमा डम्बर शमशेर राणा (सन् १८५८-१९२२) लाई मानिन्छ । उनले सन् १८७० मा भारत हुँदै नेपाल भ्रमणमा आएका युरोपेली फोटोग्राफरहरू बोर्न र सेफर्डबाट फोटोग्राफी सिकेका थिए । डम्बर शमशेर धीर शमशेरका छोरा हुन् । बाबुले दिएको पैसाको सदुपयोग गरी डम्बर शमशेरले दरबारमा फोटो स्टुडियो निर्माण गरेका थिए । धीर शमशेर भने प्रधानमन्त्री वीर शमशेरका भाइ हुन् ।
डम्बर शमशेरको फोटोग्राफीको सोखलाई उनका छोरा शमर शमशेर (सन् १८८३-१९५८)ले पनि अङ्गालेका थिए । उनी नै नेपालको इतिहासका सबैभन्दा प्रभावशाली फोटोग्राफर मानिन्छन् । शमर शमशेरको फोटोग्राफी सम्बन्धी कामलाई उनका छोरा सुप्रसिद्ध नाटककार एवम् कलाकार बालकृष्ण समले पनि निरन्तरता दिएका थिए । अर्थात् बालकृष्ण शमका हजुरबा डम्बर शमशेर नै नेपालका पहिलो फोटोग्राफर मानिन्छन् ।
सन् १८७० सम्म सर्वसाधारण जनताले फोटो खिच्ने अवसर पाएका थिएनन् । पछि मात्र आएर डम्बर शमशेर र गेहेन्द्र शमशेर (वीर शमशेरका छोरा एवं नेपालको पहिलो वैज्ञानिक) को दयाले दरबार बाहिरका सर्वसाधारण व्यक्ति पूर्णमान चित्रकार (सन् १८६३-१९३९) ले फोटोग्राफी कला सिक्ने अवसर पाएका थिए ।
राणाहरूबाट नै प्रोत्साहन पाएर फोटोग्राफी सम्बन्धी तालिम हासिल गर्ने सन्दर्भमा उनी सन् १८८० मा कलकत्ता पुगेका थिए । त्यहाँ उनले बङ्गाली फोटोग्राफर नील मधवा दीनबाट सीप सिकेका थिए । कलकत्ताबाट फर्किएपछि उनले आफ्ना दाजु दीर्घमान चित्रकारलाई पनि फोटोग्राफी सिकाएका थिए । दीर्घमानलाई चन्द्र शमशेरले सिंहदरबारमा कला विभागमा जागिर समेत दिएका थिए । सन् १९०८ मा चन्द्र शमशेर युरोप भ्रमणमा जाँदा दीर्घमानले पनि जाने अवसर पाएका थिए । उनले युरोपबाट क्यामेरा र फोटोग्राफीका सामान पनि ल्याउने अवसर पाएका
थिए । उनले काठमाडौं भीमसेनस्थान स्थित आफ्नै घरमा फोटोग्राफी स्टुडियो सञ्चालन गरेका थिए । उनले आफ्ना छोरा गणेशमान चित्रकारलाई पनि फोटोग्राफी सम्बन्धी तालिम दिएर यस विधामा व्यावसायिक रूपमा निरन्तरता दिन लगाएका थिए ।
रोयल फोटोग्राफरका रूपमा प्रसिद्धि पाएका गणेशमान चित्रकार पश्चात् उनका छोराहरू पुष्प चित्रकार र किरणमान चित्रकारले स्टुडियो सम्हालेका थिए । किरणमान चित्रकारले आफ्ना पूर्वजले थालेका फोटोग्राफी व्यवसायलाई हालसम्म पनि निरन्तरता दिई ‘गणेश स्टुडियो’ सञ्चालन गर्दै आएका छन् ।
पुष्प चित्रकार लामो समयसम्म पुरातत्व विभागमा वरिष्ठ फोटोग्राफरका रूपमा सेवारत रही हाल अवकाश जीवन बिताइरहेका छन् र किरण चित्रकार हाल नेपाल टेलिभिजनमा वरिष्ठ क्यामेराम्यानका रूपमा कार्यरत छन् । नेपालको फोटोग्राफीको इतिहासमा पहिलो व्यावसायिक फोटोग्राफरका रूपमा पूर्णमान र दीर्घमान बन्धुको नाम अङ्कित रहेको छ ।