काठमाडौं । गुगलले प्रयोगकर्ताको सुरक्षालाई साँच्चिकै गम्भीरतापूर्वक लिएको हुन्छ । पछिल्लो समय जिमेल प्रयोगकर्तालाई साइबर आक्रमणबाट जोगाउन गुगलले विभिन्न सुरक्षा उपायहरू अपनाउँदै आएको छ । ह्याकरहरूका लागि साढे दुई अर्ब बढी सक्रिय प्रयोगकर्ता रहेको जिमेल मुख्य निशाना बनेको छ ।
हाल जिमेल प्रयोगकर्तामाथि कुकिज चोरी र टु-फ्याक्टर अथेन्टिकेसन (2FA) बाइपास जस्ता साइबर आक्रमणका घटना देखा परिरहेका छन् । यस्तोमा तपाईंले आफ्नो जिमेल सुरक्षाका लागि अहिले नै एक साधारण उपाय अपनाउन सक्नुहुन्छ ।
यो उपाय समयमै नपनाए तपाईंको जिमेल सुरक्षाका लागि ढिला हुन सक्छ । यो उपाय अपनाउन तपाईंले नयाँ जिमेल अकाउन्ट खोल्नुपर्ने हुन्छ । र, आफ्नो डेटालाई सुरक्षित राख्न उक्त अकाउन्टमा विभिन्न काम गर्नुपर्ने हुन्छ ।
ब्याकअप ईमेलका लागि दोस्रो जिमेल अकाउन्ट खोल्नु
कल्पना गर्नुहोस्, एक दिन बिहान ब्युँझँदा तपाईंको गुगल अकाउन्ट ह्याक भइसकेको छ । र, तपाईं आफ्नो जिमेल इनबक्समा पहुँच पाउनसक्ने अवस्थामा हुनुहुन्न । तपाईंका लागि अहिलेलाई कल्पना मात्र भएको विषय धेरैलाई वास्तवमै त्रासदीपूर्ण अवस्थामा देखा परेको छ । जहाँ ह्याकरहरूले सेसन कुकी चोरी प्रविधि प्रयोग गरेर टु-एफए सेक्युरिटीलाई बाइपास गर्छन् ।
साइबर अपराध नियन्त्रण गर्ने निकायहरूले अनलाइन अकाउन्टलाई सुरक्षित राख्न अनिवार्य रूपमा टु-एफए लागू गर्न सुझाव दिन्छन् ।
गुगलले डिभाइसमा सुरक्षित पासकी साइन-इन एक्सेस र क्रोम प्रयोगकर्ताहरूका लागि सुरक्षित ब्राउजिङ सुरक्षा समावेश गरिसकेको छ । तर, ह्याकरहरूले यी सुरक्षालाई समेत चुनौती दिंदै खतरनाक तरिकाहरू प्रयोग गरिरहेका छन् । यतिसम्म कि ह्याकरहरूले गुगलको कुकी चोरी रोक्न बनाइएको कडा ‘एप्लिकेसन-बाउन्ड इन्क्रिप्सन’ प्रक्रियालाई समेत बाइपास गर्न सक्ने डिभाइस विकास गरिसकेका छन् ।
त्यसोभए यसरी जिमेल अकाउन्ट ह्याक हुने समस्यालाई दोस्रो अकाउन्ट खोलेर कसरी समाधान गर्न सकिन्छ होला त ? तीतो सत्य के हो भने यसले अकाउन्ट ह्याक हुने समस्यालाई पूर्ण रूपमा रोक्न सक्दैन । तर, त्यसबाट हुन सक्ने क्षतिलाई भने कम गर्न सक्छ ।
कसरी सुरक्षित रूपमा दोस्रो जिमेल अकाउन्ट सेटअप गर्ने ?
जिमेलमा यति ओटा अकाउन्ट मात्र साइन-अप गर्न मिल्छ भन्ने किसिमको सीमितता हुँदैन । तपाईंले जिमेलमा कैयौं अकाउन्ट साइनअप गर्न सक्नुहुन्छ । दोस्रो जिमेल अकाउन्ट बनाउन तलको प्रक्रिया अपनाउनुहोस्:
सबैभन्दा पहिले जिमेलमा जानुहोस् । (अथवा सोझै गुगल अकाउन्टमा जानुहोस् ।)
त्यसपछि माथि दायाँपट्टि रहेको तपाईंको प्रोफाइलमा ट्याप गर्नुहोस् ।
अनि अन्तिममा रहेको ‘एड एनोदर अकाउन्ट’ (Add another account) मा जानुहोस् ।
यति गरेपछि गुगलको अप्सन छानेर ‘क्रियट अकाउन्ट’ (Create account) को अप्सन छान्नुहोस् । र, त्यहाँ भनिएको सबै विवरण राखेर अकाउन्ट बनाउनुहोस् ।
याद गर्नुहोस्, नयाँ अकाउन्ट बनाउँदा सो अकाउन्ट सम्पूर्ण तवरबाट सुरक्षित भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यसपछि पासकी एक्टिभेट गर्नुहोस् । पासकी कसरी एक्टिभेट गर्ने भन्ने जानकारी यहाँ क्लिक गरेर पाउन सक्नुहुन्छ । त्यस्तै टु-फ्याक्टर अथेन्टिकेसन पनि अन गर्नुहोस् । भरसक टु फ्याक्टर अथेन्टिकेसनको कोड मेसेजमा आउने बनाउनुहोस् ।
नयाँ अकाउन्ट बनाउँदा सकेसम्म पृथक जानकारी प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । अकाउन्ट तयार भएपछि पुरानो जिमेल अकाउन्टको सेटिङमा जानुहोस् र एउटा फर्वार्डिङ रुल सेट गर्नुहोस् । यसले गर्दा सबै ईमेलको प्रतिलिपि नयाँ अकाउन्टमा आउँछ। यदि तपाईंको पुरानो अकाउन्ट ह्याक भयो भने पनि तपाईंको ईमेलको ब्याकअप सुरक्षित हुनेछ । फर्वार्डिङको अप्सन अन गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
सबैभन्दा पहिले ब्राउजरबाट जिमेल डटकममा जानुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् ।
अनि त्यहाँ देखिएको ‘फर्वार्डिङ एन्ड पीओपी/आईएमएपी’ (Forwarding and POP/IMAP) को अप्सनमा जानुहोस् ।
र, ‘एड अ फर्वार्डिङ एड्रेस’ मा क्लिक गर्नुहोस् ।
अनि आफ्नो दोस्रो जिमेल अकाउन्ट राख्नुहोस् । र, पहिलो अकाउन्ट भेरिफाई गर्नुहोस् । यति गरेपछि नयाँ जिमेलमा पनि भेरिफाई गर्नुहोस् ।
त्यसपछि, फर्वार्ड अ कपी अफ इनकमिङ मेल टु’ लेखेको बक्समा आफ्नो नयाँ जिमेल राख्नुहोस् ।
यति भएपछि तपाईंको जिमेल एड हुन्छ ।
तपाईंले सम्भव भएसम्मका सबै सुरक्षा तरिकाहरू सेटअप गरेर अकाउन्टलाइ सुरक्षित बनाउनुहोस् । यदि कसैले केहीगरी तपाईंको जिमेल अकाउन्ट ह्याक गर्यो भने पनि त्यसमा आउने ईमेल अर्को अकाउन्टमा आउँछ । यस्तो हुँदा तपाईंको महत्त्वपूर्ण मेल गुमाउनु हुन्न । र, कुनै अकाउन्टको कोड त्यहाँ गएको छ भने त्यसलाई पनि सुरक्षित बनाउन सक्नुहुन्छ ।