काठमाडौं । दक्षिण कोरियाले आफ्ना देशका फेसबुक प्रयोगकर्ताको संवेदनशील डेटा गैरकानुनी रूपमा सकलन गरेको भन्दै मेटालाई २१.६ अर्ब वोन (दुई अर्ब ११ करोड रुपैयाँ बढी) जरिवाना गरेको छ । त्यहाँको व्यक्तिगत सूचना संरक्षण आयोगले फेसबुक प्रयोगकर्ताको राजनीतिक विचार, लैङ्गिक रुचि लगायतका जाकारी अवैध रूपमा संकलन गरेको भन्दै यस्तो कारबाही गरेको हो ।
दक्षिण कोरियामा यसअघि पनि गोपनीयतासम्बन्धी नियम उल्लङ्घनका कारण मेटा कारबाहीमा पर्दै आएको छ । पछिल्लो चार वर्षको अनुसन्धानपछि व्यक्तिगत सूचना संरक्षण आयोगले नाै लाख ८० हजार फेसबुक प्रयोगकर्ताहरूको गोप्य जानकारी मेटाले अवैध रूपमा संकलन गरेको पत्ता लगाएको छ । यो जानकारी करिब चार हजार विज्ञापनदाताहरूलाई प्रदान गरिएको समेत खुलेको छ ।
दक्षिण कोरियाको गोपनीयता कानुनले व्यक्तिगत आस्था, राजनीतिक विचार र यौन व्यवहारसँग सम्बन्धित जानकारीको विशेष सुरक्षा प्रदान गर्छ । त्यस्ता डेटा संकलन गर्दा प्रयोगकर्ताको स्पष्ट सहमति चाहिन्छ ।
मेटाले प्रयोगकर्ताको रुचि रहेका पेजहरू वा क्लिक गरिएको विज्ञापनको आधारमा उनीहरूको जानकारी संकलन गरेको पाइएको एबीसी न्युजले जनाएको छ ।
मेटाले यसबारे अस्पष्ट रूपमा मात्र आफ्नो गोपनीयता नीतिमा उल्लेख गरेको र प्रयोगकर्ताबाट विशिष्ट सहमति नलिएको पनि आरोप लागेको छ । साथै, निष्क्रिय पेजहरूको सुरक्षा व्यवस्थामा पनि कमजोरी देखिएकोले ह्याकरहरूले त्यसको फाइदा उठाएको बताइएको छ ।
मेटाले भने यस विषयमा गम्भीर समीक्षा गर्ने जनाएको छ ।