काठमाडौं । ‘विद्यार्थीहरूद्वारा विद्यार्थीहरूका लागि: उज्ज्वल भविष्यका लागि नवीनता’ भन्ने मुख्य थिममा रहेर चार दिने ‘साइबर उत्सव २०२४’ हुने भएको छ । टेकगुर्खा र गोल्डेनगेट साइन्स एन्ड रोबोटिक्स क्लबको संयुक्त आयोजनामा २८ कात्तिकदेखि १ मंसिरसम्म यो कार्यक्रम हुन लागेको हो ।
गोल्डेन गेट इन्टरनेसनल कलेजको परिसरमा आयोजना हुने यस कार्यक्रमले ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई प्रविधि र नवप्रवर्तनको क्षेत्रमा ज्ञान र सीप विकास गर्न अवसर प्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न परियोजनाहरू प्रदर्शनीमा प्रस्तुत गर्नेछन् । साथै, वेबसाइट निर्माणसम्बन्धी दुई दिने ह्याकाथनको आयोजना पनि हुनेछ । इच्छुक विद्यार्थीहरूले समूह बनाएर ह्याकाथनमा सहभागी हुन सक्नेछन् । विजेताले ३०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।
यसका अतिरिक्त कार्यक्रममा ईस्पोर्ट्स गेम, ओपन माइक जस्ता अन्य रोचक क्रियाकलापहरू पनि हुनेछन् । कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।