काठमाडौं । बुधवार सामाजिक सञ्जाल एक्समा ओपनएआईका प्रमुख कार्यकारी (सीईओ) साम अल्टम्यानले एउटा यूआरएल (chat.com) पोस्ट गरे ।
पहिले यस डोमेन हबस्पटका संस्थापक धर्मेश शाहको स्वामित्वमा थियो । सन् २०२३ को सुरुमा शाहले यो डोमेन एक करोड ५५ लाख डलर (आजको विनिमय दरअनुसार दुई अर्ब आठ करोड ४७ लाख रुपैयाँ) मा किनेका थिए ।
यो कुरा उनले हालैको एक्स पोस्टमा उल्लेख गरेका छन् ।
BREAKING NEWS: Secret acquirer of $15+ million domain chat .com revealed and it's exactly who you'd think.
For those of you that have been following me for a while, you may recall that I announced earlier this year that I had acquired the domain chat .com for an "8 figure sum"… https://t.co/nv1IyddP5z
तर केही महिनापछि नै शाहले सो डोमेन बिक्री गरेको जनाए । बिक्रीको जानकारी र खरिदकर्ताको नाम भने खुलाएका थिएनन् ।
अहिले भने अल्टम्यानको उक्त पोस्ट रिपोस्ट गर्दै शाहले ओपनआईलाई च्याट डटकम डोमेन बेचेको खुलासा गरेका छन् । यसअघि त्यति धेरै खर्च गरेर डोमेन किन्नुको कारण पनि उनले लेखेका छन् ।
“च्याटमा आधारित सफ्टवेयरमा अर्को ठूलो कुरा बन्ने छ भन्ने मलाई कताकता लागेको थियो । यही कारण मैले डोमेन किनेको थिएँ,” उनले लिङ्क्डइनमा लेखेका छन् ।
अहिले शाहले च्याट डटकम डोमेन बेचेबापत रकमको साटो ओपनआईको केही प्रतिशत शेयर लिएका छन्, जुन आफूले किनेको डोमेनको मूल्यभन्दा बढी रहेको बताइएको छ ।
योसँगै अब chat.com बाटै च्याटजीपीटी चलाउन सकिने छ ।
कुनै कम्पनीले कसैबाट डोमेन किनेको यो पहिलो घटना होइन । डोमेन किनबेच गर्ने चलन इन्टरनेटको सुरुवातदेखि नै चल्दै आएको छ । केही महिनाअघि मात्रै ‘फ्रेन्ड’ नामक एआई स्टार्टअपले साढे २० लाख डलरको लगानी उठाएपछि friend.com डोमेन किन्न १८ लाख डलर खर्च गरेको थियो ।