काठमाडौं । यदि तपाईँ सीमित डेटा प्याकेज चलाई रहनु भएको छ भने त्यसले तपाईँलाई धेरै डेटा खपत होला कि भन्ने चिन्ता हुन सक्छ । तर चिन्ता नलिनुहोस्, तपाईँको एन्ड्रोइड फोनमा डेटाको प्रयोगमा ध्यान दिने र प्याकेज सकिएर ब्यालेन्स काटिने समस्याबाट जोगाउने थुप्रै उपायहरू छन् ।
एन्ड्रोइड फोनमा डेटा लिमिट राख्ने
तपाईँ आफ्नो एन्ड्रोइड मोबाइलमा डेटा प्याकेजको निर्धारित प्रतिशत बाँकी रहँदा चेतावनीमूलक अलर्ट प्राप्त हुने गरी सेटिङ मिलाउन सक्नु हुन्छ । डेटा प्याकेज पूर्ण रूपमा खपत भएको अवस्थामा यो फिचरले स्वतः डेटा बन्द गरी दिन्छ ।
यसले तपाईँलाई थप डेटा बचत गर्न र महँगो शुल्क काटिनबाट जोगाउन मद्दत गर्नेछ । यसका लागि कसरी सेटिङ मिलाउने भन्ने विषयमा प्रवेश गर्नु अघि तपाईंलाई भन्नै पर्छः मोबाइल निर्माता अनुसार एन्ड्रोइडमा यसको सेटिङ निकै भिन्न पनि हुन सक्छ ।
त्यसैले लेबल र मेनु यहाँ हामीले बताएको भन्दा तपाईंको एन्ड्रोइडमा केही फरक पर्न सक्छ । तर आशा गरौँ, तपाईँलाई आफ्नो मोबाइलमा यो सेटिङ फेला पार्न र मिलाउन यो सामग्रीले पक्कै पनि मद्दत मिल्नेछ ।
-यसका लागि सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड मोबाइलको सेटिङ एप खोल्नुहोस् ।
-अब त्यहाँ तपाईंले मोबाइल नेटवर्क (Mobile Network) वा नेटवर्क एन्ड इन्टरनेट (Network & Internet) भित्र डेटा वार्निङ एन्ड लिमिट (Data Warning and Limit) खोज्नु पर्ने हुन्छ । केही मोबाइल निर्माताहरूले यो सेटिङलाई क्यारियर (carrier) भित्र पनि राखेका हुन्छन् । यदि त्यो मोबाइल नेटवर्क मेनुमा छैन भने त्यसको सेटिङमा जान सिम (SIM) मा थिच्नुहोस् ।
-अब त्यहाँ Data Warning & Limit हुनु पर्छ । यदि अझै भेट्नु भएन भने सेटिङ एपमा रहेको सर्च बटनमा गएर डेटा लिमिट (Data Limit) अथवा डेटा वार्निङ (Data Warning) खोज्नुहोस् ।
-यति गरिसकेपछि अब पहिलो काम अटोमेटिक वार्निङ सिस्टम सेट गरौं । यसका लागि Data Warning (अथवा यस्तै खाले विकल्प) मा थिच्नुहोस् र वार्निङ प्राप्त हुनु अघि तपाईं कति डेटा खपत गर्न चाहनु हुन्छ भन्ने कुरा उल्लेख गर्नुहोस् ।
अब कति खपत भएपछि डेटा स्वतः बन्द हुने भन्नका लागि लिमिट सेट गर्नुहोस् । यसका लागि "Set Data Limit" खोज्नुहोस् र त्यसमा MB (megabytes) अथवा GB (gigabytes) मा डेटा लिमिट निर्धारण गर्नुहोस् ।
केही फोनहरूमा तपाईंले डेटा लिमिट रिसेट हुने गरी मिलाउने सुविधा पनि पाउन सकिन्छ । यसरी सीमित गरेको डेटा लिमिट खपत भएपछि तपाईँको फोनले मोबाइल डेटा स्वतः बन्द गरिदिन्छ, चाहे तपाईं आफैं डेटा अन वा अफ किन नगर्नुहोस्, डेटा चल्ने छैन ।
यस्तो अवस्थामा पुनः डेटा चल्ने बनाउन तपाईंले सेटिङमा गएर डेटा लिमिट परिवर्तन गर्नु पर्ने हुन्छ ।
एपमार्फत् डेटा खपत निगरानी
तपाईंको फोनले प्रत्येक-एपको आधारमा डेटा खपत मापन गर्छ । तर तपाईंको क्यारियर अर्थात् मोबाइल सेवा प्रदायक कम्पनीले कसरी मापन गर्छ भन्ने कुरासँग भने यसले सरोकार राख्दैन ।
तपाईँको मोबाइल सेवा प्रदायकले कुनै डेटा खपतलाई जेरो-रेटेड (गणना नै नगर्ने), सङ्ख्यालाई शून्यान्तर गर्ने अथवा ब्याकग्राउन्डमा हुने डेटाको प्रयोगलाई ट्रयाक गर्ने कार्य फरक तवरमा गरिरहेको हुन सक्छ । त्यसैले यस्तो त्रुटि हुन सक्ने कुरामा सावधानी अपनाउन भने नबिर्सिनुहोस् ।
जब तपाईँ डेटा वार्निङ र लिमिटको सेटिङ मिलाउनु हुन्छ, त्यसलाई आफ्नो वास्तिक डेटा प्याकेजभन्दा हल्का केही कम राख्नुहोस् । यसो गर्दा तपाईँको मोबाइल सेवा प्रदायकले प्याकेज सकिएर ब्यालेन्स काट्नु अघि नै तपाईँसँग सावधानी अपनाउने मौका रहन्छ ।
थप नियन्त्रणका लागि थर्ड-पार्टी एप प्रयोग गर्ने
केही एन्ड्रोइड फोनहरूमा डेडिकेटेड डेटा म्यानेजर उपलब्ध हुन्छ, जसको मद्दतले तपाईँ आफ्नो डेटा प्रयोगलाई थप व्यवस्थित तुल्याउन सक्नु हुन्छ । यदि तपाईंको फोनमा त्यस्तो सुविधा छैन भने प्ले स्टोरबाट त्यसका लागि छुट्टै एप डाउनलोड गर्न पनि सक्नु हुन्छ ।
तपाईंको डेटा प्याकेजलाई ट्रयाक गर्न माई डेटा म्यानेजर ब्याकग्राउन्डमा शान्त किसिमले चलिरहेको हुन्छ । क्र्याशिङ हुन नदिन यो एपका लागि तपाईंले ब्याट्री अप्टिमाइजेसनलाई भने डिएक्टिभ गर्नु पर्ने हुन सक्छ ।
एक पटक यसलाई सेटअप गरिसकेपछि तपाईँले प्रि-पेड अथवा रिकरिङ (स्वतः नवीकरण हुने) प्याकेजहरूमा डेटा लिमिट, बिलिङ साइकल र सुरु हुने मितिको जानकारी राख्न सक्नु हुन्छ । पूर्णतया सही किसिमले डेटा ट्रयाक गर्न यसमा तपाईँले जेरो-रेट एप अथवा टाइम स्लट समेत समावेश गर्न सक्नु हुन्छ ।
यदि तपाईँको खपत नभएको डेटा अर्को अवधिका लागि थप हुन्छ भने, यसले त्यसलाई पनि ट्रयाक गर्न सक्छ । यस अलावा रोमिङ अथवा वाई-फाईका लागि छुट्टै प्लान छ भने त्यो पनि सेट गर्न सक्नु हुन्छ ।
तपाईँले समग्र डेटा खपत ड्याशबोर्डमा र एपले गरेको डेटा खपत ह्यामबर्गर मेनुमा गएर हेर्न सक्नु हुन्छ । ९० प्रतिशत डेटा खपत भएको, दैनिक बजेट अथवा अन्य कुनै कस्टम सेटिङको लागि जानकारी प्राप्त हुने गरी अलार्म सेट गर्नु पर्ने हुन्छ ।
माई डेटा म्यानेजरले तपाईंको डेटा खपत अध्ययन गरेर विस्तृत सारांश सहित तपाईंको दैनिक डेटा खपत अनुमान समेत गर्न सक्छ ।
डेटाआई माई डेटा म्यानेजरभन्दा कम फिचर भएको साधारण एक एप हो । यद्यपि, यो आफ्नै डेटा सेभिङ मोड, सबै डिभाइसका लागि डेटा डिसेबल गर्न मिल्ने किल स्विच र ट्राफिक-ब्लकिङ फिचरसहित आउँछ ।
ड्याशबोर्डमा तपाईँले डेटा र वाई-फाई खपतको विवरण प्राप्त गर्न सक्नुहुन्छ । यसमा रिकरिङ डेटा प्याकेज अथवा नोटिफिकेसन अलर्टको विकल्प भने छैन । तपाईँले कति दिनमा डेटा खपत रिसेट गर्ने भन्ने कुरा रोज्न भने पाउनु हुन्छ ।
यसरी तपाईँ आफ्नो एन्ड्रोइड फोनमा डेटा खपत कम गर्न र आफ्नो दैनिक वा मासिक डेटा खपतमा नजर राख्न सक्नु हुन्छ । हुन त यसका लागि फोनमा उपलब्ध हुने इन-बिल्ट टुलहरू राम्रै छन्, तर अझ उत्कृष्ट नियन्त्रण कायम राख्न चाहनु हुन्छ भने थर्ड पार्टी एपहरू डाउनलोड गर्न सक्नु हुन्छ ।