काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का वैज्ञानिक एवम् भूकम्पविद् डा. शिव सुवेदी चर्चित साइन्स जर्नल ‘नेचर’को ‘द जोन म्याडक्स’ पुरस्कारबाट सम्मानित भएका छन् । डा. सुवेदी ‘द जोन म्याडक्स प्राइज २०२४’ को ‘जज कमेन्डेसन’ पुरस्कारबाट सम्मानित भएका हुन् ।
नेपालमा भूकम्पीय सचेतना जगाउन र भूकम्पीय जोखिम न्यूनीकरण पूर्वतयारी कार्यक्रम गरेबापत उनलाई यस सम्मान दिइएको हो । डा. सुवेदीले आफ्नो कामको मूल्याङ्कन गरेर विश्वका प्रख्यात वैज्ञानिकहरूको निर्णयअनुसार पुरस्कार पाउनु जिन्दगीको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
टेकपानासँगको कुराकानीमा उनले यो सम्मानले विशेष अर्थ लाग्ने बताए । किनकि यस वर्षको अवार्डको मनोनयनमा छनोट भएका आठ जना वैज्ञानिकमध्ये उनी विकासोन्मुख मुलुकबाट एक्ला थिए । यद्यपि यो नगदरहित पुरस्कार हो ।
स्विजरल्याण्डको युनिभर्सिटी अफ लोसानबाट विद्यावारिधि सकेका उनले सन् २०१७ देखि यस क्षेत्रमा काम गर्दै आएका छन् ।
सन् २०१२ यता विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई यो पुरस्कार प्रदान गरिँदै आइएको छ । यो पुरस्कार नेचर जर्नलका पूर्व सम्पादक सर जोन म्याडक्सको स्मृतिमा प्रदान गरिन्छ ।