काठमाडौं । अस्ट्रेलियाली सरकारले बालबालिकामा सामाजिक सञ्जालको नकारात्मक प्रभाव रोक्न १६ वर्षमुनिका प्रयोगकर्तामाथि कडा नियम लागू गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको भन्दै उनीहरूका लागि पहुँच सीमित गर्ने कानुन प्रस्ताव गरेका हुन् ।
नयाँ कानुनले नियम उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई आर्थिक दण्डको व्यवस्था गर्नेछ, जसले फेसबुक, टिकटकजस्ता कम्पनीलाई अस्ट्रेलियामा थप चुनौती थपिने अनुमान गरिएको छ । प्रधानमन्त्री अल्बानिजले प्राविधिक विज्ञहरूलाई उमेर सीमा लागू गर्ने जिम्मेवारी दिने बताउँदै यस नियमको उल्लङ्घन भएमा कडा कारबाहीको संकेत गरेका छन् ।
हेर्न नचाहेका अनावश्यक सामग्रीहरू सामाजिक सञ्जालमा देखा पर्ने भएकाले नियन्त्रण गर्नु परेको अल्बानिजले बताएका छन् । यसैगरी फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले सरकारले पेस गर्न चाहेको जुनसुकै उमेर सीमालाई सम्मान गर्ने प्रतिक्रिया दिएको छ । साथै प्रतिबन्ध लागु गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताएका छन् ।
फ्रान्सले यसअघि नै १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइसकेको छ ।