close

सगरमाथा आसपासको क्षेत्रमा इन्टरनेट पुर्‍याउने नेपाल इन्टरनेट फाउन्डेसनलाई जापानमा अवार्ड

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १२:५८

सगरमाथा आसपासको क्षेत्रमा इन्टरनेट पुर्‍याउने नेपाल इन्टरनेट फाउन्डेसनलाई जापानमा अवार्ड

काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को आयोजनामा जापानको टोकियोमा आयोजित एसोसियो डिजिटल शिखर सम्मेलनमा फाउन्डेसनले उक्त अवार्ड पाएको हो ।

एभरेस्ट कम्युनिटी नेटवर्क (ईसीएन) परियोजना सञ्चालन गरेर डिजिटल सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान गरे वापत फाउन्डेसनले यो पाएको बताइएको छ । समुद्र सतहदेखि ४ हजार मिटर माथिको उचाईमा नेपाल इन्टरनेट फाउन्डेसनले इकोटुरिजम प्रवर्धन, वातावरण संरक्षण र इन्टरनेट जडानका लागि खुन्दे र खुम्जुङ गाउँमा एभरेस्ट कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।

परियोजनाले यी बस्तीहरूमा इन्टरनेट जडान गर्दै स्थानीय शेर्पा समुदायलाई डिजिटल उपकरण र स्रोतहरू उपलब्ध गराएर दुर्गम हिमाली गाउँहरू खुन्दे र खुम्जुङमा डिजिटल डिभाइडलाई कम गर्न विशेष भूमिका खेलेको छ ।

गत अगस्ट १६ मा नेपालको खुम्बु क्षेत्रको थामे गाउँमा आएको विनाशकारी बाढीको समयमा एभरेस्ट कम्युनिटी नेटवर्कले सञ्चार प्रक्रियामा ठुलो भूमिका खेलेको थियो ।

यसले भरपर्दो इन्टरनेट पहुँचले कसरी जीवन बचाउन, समुदायको सुरक्षा गर्न र कठिन परिस्थितिमा पनि प्रभावकारी विपद् प्रतिक्रियालाई सहज बनाउन सक्छ भन्ने उदाहरण स्थापित गरेको छ ।

परियोजना प्रविधिको नवीन प्रयोग, शिक्षा, स्वास्थ्य सेवा, सूचना, पर्यटन प्रवर्धन र शेर्पा होमस्टे, इन्टरनेट बैंकिङ र सामुदायिक संलग्नतामा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको हो । 

एसोसियो एसियाका २४ राष्ट्रका सूचना प्रविधि सम्बन्धी संस्थाहरूको अन्तर्राष्ट्रिय महासङ्घ हो । एसोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनीत भएका थिए ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १२:५८