काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी एवं गोष्ठी आयोजना हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा यही २९ कात्तिकदेखि 'फिन इलेक्ट्रो टेक २०२४' नामक प्रदर्शनी सुरु हुने भएको हो ।
विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका यो प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । २ मङ्सिरसम्म चल्ने प्रदर्शनीलाई ट्रान्सवेल्ड ट्रान्सफर्मरले प्रायोजन गरेको छ ।
आम उपभोक्तालाई नवीनतम् र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष 'प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम' को नारा राखिएको छ । यस क्रममा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट हुनेछ ।
यसबाट व्यावसायिक प्रवर्धन गर्नुका साथै नवीनतम उपलब्धि बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्तामा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी गराउन सहयोग पुग्ने अपेक्षा आयोजकले राखेको छ । प्रदर्शनी अवधिभर उद्योगी, व्यवसायी एवं उद्यमीहरू माझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुका साथै उपभोक्ता हक हित सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने छ ।
प्रदर्शनीका लागि हल भित्र ४४ ओटा ब्लक र २८ओटा स्टल रहेको एक प्याभिलियन रहनेछ भने हल बाहिर डोममा २६ ओटा स्टल हुनेछन् । यस पटकको प्रदर्शनीलाई भारतको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा इन्डियन चेम्बर अफ कमर्सले हल भित्रका २८ स्टल रहेको प्याभिलियनमा इन्डिया पावर शोका लागि बुकिङ गरेको छ ।
हल भित्र र हल बाहिर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टल रहने छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर र अत्याधुनिक प्रकारका स्विचको प्रदर्शनी हुनेछ ।
त्यस्तै एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्री समेत ती स्टलहरूमा देख्न सकिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्तासँग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना उत्पादन बारे जानकारी दिनेछन् भने अवलोकनकर्ताको सहजता र खरिद गर्न रुचाउने आगन्तुकका लागि छुट्टै सेल्स एरियाको व्यवस्था पनि गरिएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणको प्रदर्शनीका लागि मङ्गलबारदेखि सहुलियत दरमा खल्ती एपबाट अग्रिम प्रवेश टिकेटको बुकिङ खुल्ला गरिएको छ । यस पटक ५० हजारभन्दा बढी आगन्तुकले प्रदर्शनीको अवलोकन गर्ने विश्वास आयोजकले राखेको छ ।