close

रिभियनसँग मिलेर विद्युतीय गाडी उत्पादन गर्दै फक्सवागन, साढे ७ खर्बको लगानी सम्झौता

टेकपाना टेकपाना

कात्तिक २९, २०८१ १०:२२

रिभियनसँग मिलेर विद्युतीय गाडी उत्पादन गर्दै फक्सवागन, साढे ७ खर्बको लगानी सम्झौता

काठमाडौं । जर्मनीको कार उत्पादक कम्पनी फक्सवागन र अमेरिकी इलेक्ट्रिक गाडी निर्माता कम्पनी रिभियनले संयुक्त रूपमा इलेक्ट्रिक गाडी (ईभी) उत्पादन गर्ने भएका छन् । युरो न्युजका अनुसार यी दुई कम्पनीले ५.८ अर्ब अमेरिकी डलर (साढे सात खर्ब रुपैयाँ बढी) लगानीमा ज्वइन्ट भेन्चरमार्फत ईभी उत्पादन गर्ने योजना बनाएका हुन् ।

बेन्ट्ली, अडी, पोर्श जस्ता ब्रान्डका लागि विश्वभर ख्याति कमाएको फक्सवागनसँग सहकार्य हुन थालेको खबर बाहिरिएपछि रिभियनको शेयर मूल्य ९ प्रतिशतले बढेको छ । सम्झौतासँगै अब फक्सवागनले रिभियनको प्रविधिको प्रयोग गरी नयाँ ईभी भेरियन्टहरू सन् २०२७ सम्म बजारमा ल्याउने अपेक्षा गरिएको छ ।

चिनियाँ गाडी निर्माताहरूको बढ्दो प्रतिस्पर्धा र पेट्रोल–डिजेल इन्जिनयुक्त सवारीसाधनको घट्दो मागलाई मध्यनजर गर्दै यी कम्पनीले नयाँ रणनीतिक कदम चालेको चर्चा छ ।

पछिल्लो समय फक्सवागनको बिक्री घट्दो क्रममा छ भने रिभियनले पनि पार्ट्स अभाव र उच्च उत्पादन लागतका चुनौतीहरू सामना गरिरहेको छ । यस्तो अवस्थामा फक्सवागन र रिभियनको सहकार्यले ईभी बजारमा नयाँ आयाम थप्न सक्ने विश्लेषण गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८१ १०:२९