काठमाडौं । विश्व अटो बजार क्षेत्रमा विद्युतीय गाडी (ईभी) प्रति आकर्षण बढ्दै छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईए) का अनुसार हाल विश्वभर प्रतिदिन ५० हजार युनिट ईभीहरूको बिक्री हुने अनुमान छ । नेपालकै सन्दर्भमा पनि भन्सार विभागको पछिल्लो तथ्यांकले चालु आवको पहिलो तीन महिनामा मात्रै २५ सय बढी ईभी आयात भएको देखाउँछ ।
विश्व बजारमा ईभीको माग बढेसँगै ईभी उत्पादनमा समेत उल्लेखनीय लगानी बढेको पाइन्छ । साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टअनुसार ईभी उत्पादनमा विश्वको ८० प्रतिशत बजार ओगटेको चीनमा मात्र कम्तीमा ५०० कम्पनीले ईभी उत्पादन गरिरहेका छन् । ईभी प्रतिको बढ्दो आकर्षण र लगानीले ग्राहकहरूलाई पर्याप्त विकल्प, प्रतिस्पर्धात्मक मूल्य र सर्वसुलभता जस्ता सुविधा अवश्य प्रदान गरेको छ ।
यद्यपि, अटो बजारमा दिनानुदिन थपिँदै गएका सम्पूर्ण कम्पनीहरू बजारमा स्थापित हुन नसक्दा सो ब्राण्डका ईभीमा लगानी गरेका ग्राहकले समस्या भोग्नु परेको घटना पनि सार्वजनिक भएका छन् । हालै मात्र चीनको प्रख्यात सवारी साधन उत्पादक कम्पनी डेयुनको लगानीमा रहेको ईभी उत्पादक कम्पनी युआनहाङ पनि गम्भीर आर्थिक सङ्कटमा रही कंगाल पल्टिन लागेको सूचना सार्वजनिक भएको थियो ।
ईभी उत्पादनमा वर्चस्व जमाइरहेको चीनमा सन् २०२४ को सुरुवातमा ह्युमन होराइजन नामक ईभी उत्पादक कम्पनी टाट पल्टिएको थियो । यी दुई कम्पनीअघि चीनमा डब्लुएम मोटर्स, चाङजियाङ ईभी, बाइटन, बोर्ड्रिन मोटर्स र जङसु सलिन अटोमोटिभ टेक्नोलोजी नामक ईभी उत्पादक कम्पनीहरू पनि टाट पल्टिसकेका थिए ।
यसर्थ, ईभीमा लगानी गर्नुपूर्व आफूले लगानी गर्न लागेको ईभी ब्राण्डको बारेमा भरसक धेरै कुरा थाहा पाएमा लगानी अर्थपूर्ण हुन्छ । यस लेखमा हामी ईभीमा लगानी गर्नुअघि गुणस्तरीय ब्राण्डको पहिचान कसरी गर्ने भन्ने विषयमा चर्चा गर्नेछौं:
१. ब्राण्डको प्रतिष्ठा र इतिहास
ईभीमा लगानी गर्नुअघि ब्राण्डको इतिहास र प्रतिष्ठाको बारेमा थाहा पाउनु अत्यन्त आवश्यक हुन्छ । लामो समयदेखि स्थापित ब्राण्डहरू तुलनात्मक रूपमा बढी विश्वसनीय हुने गर्छन् । ब्राण्ड प्रतिष्ठा र इतिहासबारे थाहा पाउनका लागि विभिन्न सञ्चार माध्यममा प्रकाशित समीक्षा, पुराना ग्राहकहरूको अनुभव आदिले सहयोग पुर्याउँछ ।
२. लगानीकर्ताबारे जानकारी
विद्युतीय गाडीको उत्पादन उद्योग तुलनात्मक रूपमा नयाँ उद्योग हो । यसर्थ, ईभीमा लगानी गर्दा पुराना ब्राण्डमा मात्र लगानी गर्न सम्भव नहुन सक्छ । ब्राण्ड छनोट गर्दा लगानीकर्ता को हुन्? कम्पनी स्थापना भएको देशको आर्थिक तथा राजनीतिक वातावरण कस्तो छ ? सरकारले नयाँ उद्योगलाई सहजीकरणका लागि नीति तथा नियमहरू कस्तो बनाएको छ ? यस्ता विषयमा ध्यान दिनु लाभदायक हुन्छ ।
३. कम्पनीहरूसँगको रणनीतिक सहकार्य
विभिन्न कम्पनीबीचको सहकार्य र साझेदारीले टेक र अटोमोटिभ क्षेत्रका ब्राण्डहरूको उत्पादन र नवप्रवर्तनलाई बलियो बनाउन मद्दत पुर्याउँछ ।
४. उत्पादन क्षमता, पूर्वाधार र बजारको अवस्था
ईभीमा लगानी गर्नुअघि सो ब्राण्डको उत्पादन क्षमता, पूर्वाधार र विश्व बजारमा पहुँचबारे जानकारी राख्नु महत्त्वपूर्ण हुन्छ ।
५. प्रविधि र नवप्रवर्तन
ईभी नयाँ प्रविधिमा आधारित आविष्कार भएकाले ब्राण्डले नयाँ प्रविधि र नवप्रवर्तनमा कति लगानी गरेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
६. पेटेन्ट र बौद्धिक सम्पत्ति
ब्राण्डले विशेष प्रविधिका लागि पेटेन्ट दर्ता गरेका छन् कि छैनन् र बौद्धिक सम्पत्तिमा कस्तो लगानी गरेका छन् भन्ने कुरा पनि विचार गर्नुपर्छ ।