काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एसईईमा सहभागी हुने विद्यार्थीका लागि भिडिओ पाठहरू युट्युबमा उपलब्ध गराएको छ । तालिम प्राप्त शिक्षकद्वारा प्रभावकारी ढङ्गले पठनपाठन गरिएका विभिन्न विषयका भिडिओ डाउनलोड गरी हेर्न र सुन्न केन्द्रले सबै विद्यार्थीलाई आग्रह गरेको हो ।
बुधबार एक सूचना प्रकाशित गर्दै केन्द्रले अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका भिडिओ पाठहरू युट्युब च्यानल एनसीईडी भर्चुअल (NCED Virtual) मा राखिएको जनाएको छ । "आफूलाई इच्छा लागेको जुनसुकै समयमा मन लागेका जुनसुकै पाठहरू निःशुल्क डाउनलोड गरी आफ्नो ल्यापटप तथा स्मार्टफोनमा हेर्न र सुन्न सकिने सुविधा रहेको ब्यहोरा सम्बन्धित सबै विद्यार्थीलाई जानकारी गराइन्छ," केन्द्रले भनेको छ ।
यसका साथै सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख, सबै विद्यालयका प्रधानाध्यापक तथा विषय शिक्षक र सम्पूर्ण अभिभावकलाई समेत उक्त युट्युब च्यानलमा निःशुल्क प्राप्त हुने भिडिओ पाठहरूको बारेमा विद्यार्थीलाई जानकारी तथा सहजीकरण गराई लाभ लिन उत्प्रेरित गर्न अनुरोध समेत गरेको छ ।