काठमाडौं । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा बीवाईडीको मल्टिपर्पोज भेहिकल एम-सिक्स सार्वजनिक गर्ने तयारी गरेको छ । साइमेक्स इंकले गत शनिबार नै एम-सिक्स काठमाडौं भित्र्याइसकेको छ ।
नेपाली बजारमा ५५.४ किलोवाट आवर र ७१.८ किलोवाट आवरका दुई भेरियन्ट भित्रिएका छन् । ६ सिटर मोडललाई सुपेरियर मोडल नाम दिइएको छ भने ७ सिटर मोडललाई स्ट्यान्डर्ड मोडल भनिएको छ । दुवै मोडलमा ५५.४ किलोवाट आवर र ७१.८ किलोवाट आवर ब्याट्री क्षमताका विकल्प उपलब्ध छन् ।
५५.४ किलोवाट आवर ब्याट्री क्षमताको एम-सिक्सले ४२० किलोमिटर र ७१.८ किलोवाट आवर ब्याट्री क्षमताको एम-सिक्सले ५३० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
ठूलो परिवारका लागि उपयुक्त मानिएको यो भेहिकल पर्याप्त लेग र हेडरूमसहितको इन्टेरियर डिजाइनमा बनाइएको छ । यसमा सफ्ट-टच प्लास्टिक र उच्च गुणस्तरको अपहोल्स्टरी सामग्री प्रयोग गरिएको छ । १२.८ इन्चको रोटेसनल इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिजोन क्लाइमेट कन्ट्रोल, एम्बियेन्ट लाइटिङ र प्यानोरामिक सनरुफ जस्ता आधुनिक सुविधा यसमा उपलब्ध छन् ।
गाडीको बाहिरी डिजाइन आकर्षक बनाइएको छ । १९ इन्चका अलोइ ह्विल, एलईडी टेल लाइट, पावर टेलगेट र स्लिम एलईडी हेडलाइटले यसको लुकलाई अझ उत्कृष्ट बनाएको छ ।
नेपाली बजारमा चाँडै नै सार्वजनिक हुने एम-सिक्सको आधिकारिक मूल्य भने सार्वजनिक भइसकेको छैन ।