close

सवारी चालकको चाबी खोस्ने ट्राफिक प्रहरीको कार्य विरुद्ध उच्च अदालत पाटनले दिएन अन्तरिम आदेश

टेकपाना टेकपाना

मंसिर ११, २०८१ १६:२३

सवारी चालकको चाबी खोस्ने ट्राफिक प्रहरीको कार्य विरुद्ध उच्च अदालत पाटनले दिएन अन्तरिम आदेश

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश दिएको हो ।

कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीलाई चालकको चाबी खोस्ने अधिकार नभएको र यो कार्य संविधान र कानुनी अधिकारहरूको उल्लंघन भएको दाबी गर्दै  उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले यस मुद्दामा अन्तरिम आदेश दिने वा नदिनेबारे छलफलका लागि मंसिर ३ गते दुवै पक्षलाई उपस्थित गराउने आदेश दिएको थियो । तर, मंसिर ३ मा बिदा परेको कारण मंसिर १० गते अर्को पेसी राखिएको थियो ।

यस सुनुवाइमा निवेदकका तर्फबाट अधिवक्ताहरू सुजित कुमार भुजेल, डा. नेवल चौधरी, सुनु रिजाल र रामप्रवेश यादवले बहस गरेका थिए भने विपक्षी तर्फबाट उच्च सरकारी वकिल कार्यालय, पाटनका सहायक न्यायाधिवक्ता सचित कुमार वाइवा उपस्थित थिए ।

रिट निवेदकले उठाएको विषयवस्तुका सम्बन्धमा अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने विषय भएकाले तत्काल अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्थाको विद्यमानता नदेखिएको भन्दै इजलासले ट्राफिक प्रहरीलाई नियमानुसार प्रक्रिया गर्न आदेश दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८१ १६:३२