काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । केही सरकारी अस्पतालहरूमा कार्यालय समयमा कर्मचारी उपलब्ध नहुने गुनासोको समाधानस्वरूप मन्त्रालयले विद्युतीय हाजिरी प्रणाली लागू गर्न परिपत्र गरेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कार्यालय समयमा कर्मचारी र चिकित्सक बाहिर भेटिने समस्या रोक्न विद्युतीय हाजिरी अनिवार्य गर्न र कडाइका साथ निगरानी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।
यसपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ ओटा संघीय अस्पतालमा विद्युतीय हाजिरी लागू गर्न परिपत्र पठाएको छ । यस व्यवस्था लागू गरेपछि मन्त्रालयले चिकित्सक र स्वास्थ्य कर्मचारीहरूको उपलब्धता अनुगमन गर्ने जनाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न विद्युतीय हाजिरीको व्यवस्था गरिएको जानकारी दिए । “हामीले सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्ने निर्णय गरेका छौं,” उनले भने, “अनुगमन गर्दा कर्मचारी र चिकित्सक उपलब्ध नभएको पाइए कारबाही गरिने छ ।”