close

वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनीको १ अर्ब ४२ करोड लगानी

टेकपाना टेकपाना

मंसिर १३, २०८१ १४:७

वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनीको १ अर्ब ४२ करोड लगानी

काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फन्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो (करिब एक अर्ब ४२ करोड) लगानी गरेको छ । ​वर्ल्डलिङ्कको विद्यमान फाइबर नेटवर्क विस्तार तथा विश्वस्तरीय डेटा सेन्टर सञ्चालनका लागि फिनफण्डले यो लगानी गरेको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल र फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक एवं डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्झौतामा हस्ताक्षर गरे ।

सो अवसरमा किल्पेलेइनले भने, "वर्ल्डलिङ्कले नेपालका ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा सेवा विस्तार गरेर डिजिटल विभाजन घटाउन काम गरिरहेको छ । फिनफण्डको लगानीले ती समुदायलाई छिटो, किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउने लक्ष्य राखेको छ ।" उनले थपे, "फिनिश लगानीकर्ताका रूपमा हामी वर्ल्डलिङ्कको इन्टरनेट सेवा विस्तारमा नोकियाको उन्नत प्रविधि प्रयोगलाई महत्त्व दिन्छौं ।"​

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले वर्ल्डलिङ्कका ग्राहकका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखिएको छ ।

डेटा सेन्टरको विस्तारले वर्ल्डलिङ्कका ग्राहक मात्र नभइ अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुर्‍याउने बताइएको छ । "फिनफण्ड डेटा सेन्टर निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिङ्कलाई सहयोग गर्न तत्पर छ," किल्पेलेइनले अगाडि भने ।

वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले भने, "फिनफण्डको लगानी नेपालका हरेक कुनामा तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्क पुर्‍याउने हाम्रो लक्ष्यमा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ । हाम्रो फाइबर नेटवर्क विस्तार र विश्वस्तरीय डेटा सेन्टर स्थापना गरेर हामी सहर र ग्रामीण क्षेत्र बीचको डिजिटल ग्याप हटाउन र देशभर डिजिटल रुपान्तरणलाई गति दिन चाहन्छौं ।"

वर्ल्डलिङ्क नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । यस कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ । नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सेदारी सहित कम्पनीले ९ लाख बढी घरपरिवारमा सेवा उपलब्ध गराउँदै आएको छ । वर्ल्डलिङ्कले पहिले पनि ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको थियो ।

फिनफण्ड एक विकास क्षेत्रको लगानीकर्ता हो, जसले दिगो भविष्य निर्माण गर्न र वैश्विक विकास चुनौतीहरू समाधान गर्न विभिन्न व्यवसायहरूमा लगानी गर्छ । फिनफण्डको ध्यान नवीकरणीय ऊर्जा, दिगो वन, दिगो कृषि, वित्तीय संस्था र डिजिटल पूर्वाधार जस्ता दिगो विकासका महत्वपूर्ण क्षेत्रहरूमा रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८१ १६:११