close

ह्वावेले सार्वजनिक गर्‍यो एन्ड्रोइड कतै नजोडिएको पहिलो फोन, के छन् विशेषता ?

टेकपाना टेकपाना

मंसिर १३, २०८१ १४:५४

ह्वावेले सार्वजनिक गर्‍यो एन्ड्रोइड कतै नजोडिएको पहिलो फोन, के छन् विशेषता ?

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले मेट ७० र मेट एक्स सिक्स फोल्डेबल सिरिज सार्वजनिक गरेको छ । कम्पनीले हालै मात्र यी सिरिजलाई चिनियाँ बजारमा सार्वजनिक गरेको हो ।

यससँगै ह्वावेले एन्ड्रोइडसँगको सम्बन्ध औपचारिक रूपमा तोडेको छ । यी फोनमा पूर्ण रूपमा ह्वावेको आफ्नै अपरेटिङ सिस्टम 'हार्मोनी ओएस नेक्स्ट' प्रयोग गरिएको छ । यस अपरेटिङ सिस्टमलाई कम्पनीले अमेरिकी प्रविधिको सहायताबिना आफ्नै देशमा विकास गरेको हो ।

सन् २०१९ मा पहिलो पटक हार्मोनी ओएस सार्वजनिक गरिएको थियो । त्यस समय यो एन्ड्रोइडको फ्रेमवर्कमा आधारित थियो । तर, अब ह्वावेले एन्ड्रोइडलाई अङ्गाल्न छोडेको छ, जसको अर्थ अब ह्वावेका नयाँ फोनमा एन्ड्रोइड एपहरू प्रयोग गर्न सकिने छैन ।

ह्वावेले डेभलपरलाई आफ्नै ओएसमा आधारित एपहरू विकास गर्न प्रोत्साहित गर्दै काम गरिरहेको छ । चिनियाँ सञ्चार माध्यमहरूको रिपोर्टअनुसार ह्वावेले १० हजारभन्दा बढी एप्स हार्मोनी ओएस नेक्स्टमा उपयुक्त बनाइसकेको छ र यस वर्षभित्र एक लाख एप विकास गर्ने लक्ष्य राखेको छ ।

मेट ७० सिरिज हार्मोनी ओएस नेक्स्ट प्रयोग गर्ने पहिलो फ्ल्यागशिप फोन हो । तर मेट ७० र मेट एक्स सिक्स सिरिजमा हार्मोनी ओएस नेक्स्ट पहिले नै इन्स्टल गरेर उपलब्ध हुने छैन । यी फोनमा हार्मोनी ओएस ४.३ भर्सन प्रि-इन्स्टल हुनेछ, जसका कारण फोनमा केही एन्ड्रोइड तत्वहरू यथावत् रहनेछन् ।

हार्मोनी ओएस नेक्स्ट केही महिनापछि मात्र इन्स्टल गर्न उपलब्ध हुनेछ । प्रयोगकर्ताले आफ्नो चाहना अनुसार नयाँ ओएस प्रयोग गर्न सक्नेछन् । सन् २०२५ भित्र कम्पनीले नयाँ डिभाइसहरूमा डिफल्ट रूपमा हार्मोनी ओएस नेक्स्ट उपलब्ध गराउनेछ ।

एन्ड्रोइडमुक्त अनुभव दिने ह्वावेको यो कदमलाई विभिन्न कोणबाट मूल्याङ्कन गरिएको छ । कम्पनीले ओएसमा अमेरिकी कम्पनीहरूको दबदबा तोड्दै आफ्नै ओएस निर्माण गर्ने निर्णयलाई चर्चाको विषय बनाएको छ ।

चिनियाँ प्रयोगकर्ताले नयाँ अपरेटिङ सिस्टमलाई कसरी लिन्छन् भन्ने कुरा हेर्न बाँकी छ। यद्यपि कम्पनी नयाँ ओएसका कारण प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न विश्वस्त छ। डेभलपरहरूलाई आफ्नो इकोसिस्टममा लगानीका लागि प्रेरित गर्न र प्रयोगकर्तालाई आफ्नो इकोसिस्टममा निर्भर बनाउन ह्वावेका लागि चुनौती हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८१ १५:०