काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले स्टारलिङ्क भित्र्याउन लबिङ गरिरहेको खुलेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले नेपालमा स्टारलिङ्क भित्र्याउन आफू आतुर भएको बताएका हुन् ।
“स्टारलिङ्कको सेवा नेपालका लागि अति आवश्यक छ,” अध्यक्ष अग्रवालले भने, “म स्टारलिङ्कको पक्षमा विगत दुई वर्षदेखि लबिङ गर्दै आइरहेको छु । स्टारलिङ्कलाई पनि नेपालमा छिटो सेवा सञ्चालन गर्न आग्रह गरेको छु ।”
नेपालका विकट क्षेत्रमा स्टारलिङ्कको सेवा अत्यावशक जस्तै रहेको अग्रवालले सुनाए । उनले अगाडि भने, “किनभने स्टारलिङ्कको उपयोग काठमाडौंमा बस्ने अर्बान ग्राहकलाई होइन कि फोक्सुन्डोको ग्राहकलाई काम लाग्छ । जुन ठाउँमा कुनै पनि भौतिक संरचना हामी बनाउन सक्दैनौं, फाइबर बिच्छ्याउन सक्दैनौं, टावर हाल्न सक्दैनौं त्यो ठाउँमा स्टारलिङ्कले राम्रो भरपर्दो सेवा दिन सक्छ । र, वर्ल्डलिङ्कको उद्देश्य २९ वर्षदेखि राम्रो, भरपर्दो सेवा दिने हो । त्यो सेवा स्टारलिङ्कले दिन सक्छ भने धेरै राम्रो । वर्ल्डलिङ्कले दिन सक्यो भने पनि धेरै राम्रो ।”
पछिल्लो समय नेपालमा स्टारलिङ्कको चर्चा बढी छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कका मालिक एलन मस्कसँग कुरा गरेको फोटो सार्वजनिक गरेका थिए । त्यसअघि पनि कम्पनीका प्रतिनिधि आएर प्रधानमन्त्री ओलीका अघि डेमो प्रस्तुत गरेका थिए ।
के हो स्टारलिङ्क ?
स्टारलिङ्क, एलन मस्कको कम्पनी स्पेसएक्सले प्रदान गर्ने स्याटेलाइट इन्टरनेट सेवा हो । सामान्यतः इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले जमिनमुनि केबल बिछ्याएर वा मोबाइल टावरहरू प्रयोग गरी इन्टरनेट सेवा दिन्छन् । तर, स्टारलिङ्कले आफ्ना ग्राहकलाई इन्टरनेट सेवा दिन पृथ्वीको परिक्रमा गर्ने स्याटलाइटको नेटवर्क प्रयोग गर्छ ।
स्टारलिङ्कको मुख्य उद्देश्य ब्रोडब्यान्ड इन्टरनेट सेवा नहुने ग्रामीण क्षेत्रहरू र टावर निर्माण गर्न कठिन स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउनु हो ।
स्टारलिङ्कको इन्टरनेट सेवा सामान्य ब्राेडब्यान्ड जस्तो काम गर्दैन । यसमा लाखौं किलोमिटर लामा केबलमा निर्भर हुनु पर्दैन । स्टारलिङ्कले अन्तरिक्षबाट सिधै इन्टरनेट सेवा प्रदान गर्छ । यसले गर्दा दुर्गम क्षेत्रहरूमा पनि उच्च गतिको इन्टरनेट सेवा सहजै पुग्न सक्छ ।
यद्यपि अहिले पनि अन्य केही कम्पनीले स्याटलाइट इन्टरनेट सेवाहरू उपलब्ध गराएका छन् । तर ती सेवा दिने कम्पनीले पृथ्वीबाट धेरै टाढा रहेको स्याटलाइट प्रयोग गर्छन् । यसले गर्दा इन्टरनेटको गति सुस्त हुन्छ । र, डेटा ट्रान्समिसनमा ढिलाइका कारण उच्च गतिको इन्टरनेट पाउन कठिनाइ हुन्छ ।
स्टारलिङ्कका उपग्रह पृथ्वीको धेरै नजिक छन् । यसले गर्दा स्टारलिङ्कले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । यसको अर्को विशेषता के हो भने यसले उडिरहेको जहाजमा पनि उच्च गतिको इन्टरनेट दिन सक्छ ।
ब्रोडब्यान्ड कम्पनीले डेटा पठाउन फाइबर अप्टिक केबल प्रयोग गर्छन् । यसले गर्दा सहर र गाउँमा यस्तो केबल प्रयोग गरेर इन्टरनेट सेवा दिन सजिलो हुन्छ । तर, दुर्गम क्षेत्रहरू र पहाडी इलाकामा केबल पुर्याउन गाह्रो र महँगो हुन्छ । यस्तै ठाउँमा स्टारलिङ्कको सेवा उपयोगी हुन्छ ।