काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तलाखुका ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । साइबर ब्युरोको टोलीले उनलाई बुधबार काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पीडित युवतीले उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा केसीले युवतीलाई पहिले प्रेम प्रस्ताव राखी सम्बन्ध बनाउने र त्यसपछि भिडिओ कलमार्फत गोप्य अङ्ग देखाउन बाध्य पार्ने गरेको देखिएको अवस्थीले जानकारी दिए ।
युवतीले गोप्य अङ्ग भिडिओमा देखाएपछि केसीले त्यसको स्क्रिनशट र स्क्रिनरेकर्ड गर्थे । पछि युवतीलाई केसी विवाहित रहेको कुरा थाहा भएपछि सम्बन्ध बिग्रियो । त्यसपछि केसीले ती भिडिओ र फोटो युवतीका आफन्तलाई पठाउने धम्की दिन थालेका थिए ।
प्रहरीका अनुसार केसीले दुई पटकसम्म रकम असुल गरिसकेका थिए । तेस्रो पटक रकम माग्दा युवतीले अस्वीकार गरेपछि उनले अश्लील भिडिओ तथा फोटो युवतीका आफन्तलाई पठाइदिएका थिए ।
साइबर ब्युरोले गरेको प्राविधिक विश्लेषणबाट केसीको संलग्नता पुष्टि भएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।