close

इथिकल ह्याकर सुवेदीको सम्झनामा दीप प्रज्वलन, परिवारका लागि सहयोग संकलन चल्दै

टेकपाना टेकपाना

मंसिर १४, २०८१ २१:३०

इथिकल ह्याकर सुवेदीको सम्झनामा दीप प्रज्वलन, परिवारका लागि सहयोग संकलन चल्दै

काठमाडौं । इथिकल ह्याकर विवेक सुवेदीको सम्झनामा दीप प्रज्वलन गरिएको छ । शुक्रबार माइतीघर मण्डलामा आयोजित श्रद्धाञ्जली सभामा साइबर सुरक्षा अनुसन्धानकर्ता, सुवेदीका पूर्वसहकर्मी र शुभचिन्तकले दीप प्रज्वलन गर्दै आत्माको चीर शान्तिको कामना गरेका थिए ।

६ मंसिरमा अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा बर्दिया मधुवन नगरपालिका–८ का २२ वर्षीय सुवेदीसहित रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ का सुरेश केसीको ज्यान गएको थियोे ।

सुवेदी छात्रवृत्ति पाएर गत वर्ष ४ असोजमा अमेरिका गएका थिए । उनी अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कम्प्युटर साइन्स विषयमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गरिरहेका थिए । साइबर सुरक्षा क्षेत्रमा नेपालमा उनले राम्रो पहिचान बनाइसकेका थिए । 

नेपालगन्जस्थित पब्लिक मार्डेन निजी आवासीय विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका उनी साइबर सुरक्षामा स्नातक गर्न काठमाडौं आएका थिए । 

“पठाइमा विवेक निकै जेहेन्दार थिए,” सुवेदीलाई सम्झिंदै उनका एक साथीले भने, “उनी असाइनमेन्टहरू पनि रातभर नसुती पूरा गर्थे ।”

उनका एक सहकर्मीले सुवेदीले इथिकल ह्याकिङलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिने गरेकाे सुनाए । उनले भने, “नेपालमा ह्याकिङलाई जसरी लिइन्छ त्यसलाई परिवर्तन गर्नु जरुरी छ भन्थे । अमेरिका गइसकेपछि पनि नेपालको साइबर सुरक्षा क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने आवाज उठाउँथे ।”

उनी अमेरिका गएदेखि नै सिस्को नेटवर्किङ एकेडेमीमा साइबर सुरक्षा विश्लेषकका रूपमा कार्यरत थिए । त्यस्तै रामलक्ष्मण ग्रुपमा साइबर सुरक्षा इन्जिनियर तथा सुरक्षा परामर्शदाताका रूपमा पनि उनले काम गरेका थिए । साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालमा समेत उनले एसओसी एनालिस्टको रूपमा काम गरेका थिए ।

कोभेन्ट्री युनिभर्सिटीबाट सुवेदीले इथिकल ह्याकिङ र साइबर सुरक्षामा स्नातक तह उत्तीर्ण गरेका थिए । 

इन्फोसेक कम्युनिटीमा सुवेदीको योगदान र समर्पण अतुलनीय रहेको उनका सहकर्मीहरू सुनाउँछन् । विवेक घरका एक्ला छोरा थिए । सानैमा उनकी दिदी कुलोमा डुबेर बितेकी थिइन् । बचेका एक सन्तान नै अस्ताएपछि उनका आमाबुवा सन्तानविहीन बनेका छन् । बुढेसकालको एक्लो सहारा नै संसारबाट सधैंका लागि अस्ताएपछि उनीहरू शोकमा डुबेका छन् । थोरै भए पनि आर्थिक सहयोग जुटाउन सकियोस् भनेर उनका शुभचिन्तकले सहयोग संकलन गरिरहेका छन् । 

महेन्द्रनगर घर भएका सुवेदीका सहकर्मी कैलाश बोहोराको नामबाट सहयोग सङ्लनको अभियान चलिरहेको छ । सुवेदीको परिवारलाई सहयोग गर्न चाहने इच्छुक व्यक्तिले ईसेवा, खल्ती, आईएमईपे, कनेक्ट आईपीएस र सेलपेबाट सहयोग गर्न सक्छन् । त्यसका लागि ९८४८८७९६९० मा सहयोग रकम पठाउन सक्नेछन् । त्यस्तै कैलाश बोहोराको सिद्धार्थ बैंकको अकाउन्ट नम्बर ०१०१५१३४८६० मा सहयोग रकम पठाउन सकिनेछ । त्यस्तै गोफन्डमीबाट पनि स्वर्गीय सुवेदी र केसीको परिवारका लागि सहयोग अभियान थालिएको छ । गोफन्डमीबाट सहयोग गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८१ २१:४०