काठमाडौं । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश बनेको छ । बालबालिकाको सुरक्षाका लागि भन्दै अस्ट्रेलियाको सदनले बिहीबार मात्र यो कानुन पारित गरेको हो ।
यो नियम आगामी जनवरीबाट परीक्षणको रूपमा लागू हुने र एक वर्षपछि पूर्ण रूपमा कार्यान्वयनमा आउने बताइएको छ । यदि सामाजिक सञ्जाल प्लेटफर्महरूले यो कानुन उल्लङ्घन गरेमा ४९.५ मिलियन अस्ट्रेलियन डलर (करिब चार अर्ब ३१ करोड रुपैयाँ) सम्म जरिवाना तिर्नुपर्ने छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कानुनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुका साथै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउने बताएका छन् । तर सरकारको यस कदमप्रति मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले यसलाई सकारात्मक मानेका छन् भने केहीले यो कदमलाई लोकतन्त्रको उल्लङ्घन भनेका छन् ।
सामाजिक सञ्जाल कम्पनीहरूले पनि सरकारको यस कदमप्रति असहमति जनाएका छन् । टिकटकले यो प्रतिबन्धले बालबालिकालाई 'डार्क इन्टरनेट' तर्फ धकेल्न सक्ने चेतावनी दिएको छ । उता, एक्स (पूर्व ट्वीटर) का मालिक एलन मस्कले यो नियमलाई ‘इन्टरनेट पहुँचलाई नियन्त्रण गर्ने योजना’ भन्दै आलोचना गरेका छन् ।
आगामी दिनमा यो कानुन कतिको प्रभावकारी हुन्छ भन्नेबारे अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन ।